जनकपुरधाम, २७ असार । विपद्सम्बन्धी सूचना, गुनासा, उद्धार तथा समन्वय सेवालाई थप छिटो, सहज र प्रभावकारी बनाउन गृह मन्त्रालयले विपद् हटलाइन नम्बर १२३४ लाई देशभरका ७७ जिल्लामा विस्तार गरी सञ्चालनमा ल्याएको छ ।

गृह मन्त्रालयले जारी गरेको विज्ञप्तिअनुसार यसअघि राष्ट्रियस्तरबाट मात्रै सञ्चालन हुँदै आएको टोल–फ्री विपद् हटलाइन ११४९ लाई प्रतिस्थापन गर्दै नयाँ हटलाइन नम्बर १२३४ कार्यान्वयनमा ल्याइएको हो ।

नयाँ व्यवस्थाअनुसार काठमाडौं, ललितपुर र भक्तपुरबाट १२३४ मा गरिएका फोन राष्ट्रिय आपत्कालीन कार्यसञ्चालन केन्द्र, सिंहदरबारमा पुग्नेछन् ।

अन्य ७४ जिल्लाबाट गरिएका फोन भने सम्बन्धित जिल्लाको जिल्ला आपत्कालीन कार्यसञ्चालन केन्द्रमा स्वतः राउटिङ हुने व्यवस्था गरिएको मन्त्रालयले जनाएको छ ।

यस व्यवस्थासँगै नागरिकले विपद्सम्बन्धी सूचना, समस्या, गुनासा तथा सुझाव आफ्नै जिल्लाको आपत्कालीन केन्द्रमा प्रत्यक्ष रूपमा जानकारी गराउन सक्नेछन् ।

मन्त्रालयका अनुसार यसले उद्धार, राहत वितरण, समन्वय तथा सेवा प्रवाहलाई अझ प्रभावकारी र समयमै सञ्चालन गर्न सहयोग पुग्ने विश्वास गरिएको छ ।

गृह मन्त्रालयले मन्त्रिपरिषद्को २०८२ चैत १३ गतेको निर्णयअनुसार शासकीय सुधार कार्यसूची कार्यान्वयन गर्दै परिणाममुखी, जवाफदेही र प्रभावकारी सार्वजनिक सेवा प्रवाहको अवधारणाअनुसार सबै ७७ जिल्लाका आपत्कालीन कार्यसञ्चालन केन्द्रलाई २४सै घण्टा सञ्चालनमा ल्याइएको जनाएको छ ।

मन्त्रालयले विपद्को समयमा नेपाल सरकारबाट जारी हुने आधिकारिक सूचना तथा पूर्वसूचनाको पालना गर्न र कुनै पनि विपद्सम्बन्धी सूचना वा सहायता आवश्यक परे हटलाइन नम्बर १२३४ मा सम्पर्क गर्न सबै नागरिकसँग आग्रह गरेको छ ।