जनकपुरधाम, १६ असार । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्यमा उल्लेखनीय कटौती गरेको छ ।

अन्तर्राष्ट्रिय बजारमा इन्धनको खरिद मूल्य घटेर आएपछि निगमले बुधबार बिहानदेखि लागू हुने गरी पेट्रोल, डिजेल, मट्टितेल, हवाई इन्धन तथा खाना पकाउने एलपी ग्यासको नयाँ मूल्य निर्धारण गरेको हो ।

निगमको सञ्चालक समितिको मंगलबार बसेको बैठकले पेट्रोलमा प्रतिलिटर २० रुपैयाँ तथा डिजेल र मट्टितेलमा प्रतिलिटर ३० रुपैयाँ मूल्य घटाउने निर्णय गरेको छ ।

त्यस्तै, आन्तरिक उडानका लागि प्रयोग हुने हवाई इन्धनमा प्रतिलिटर ४० रुपैयाँ र खाना पकाउने एलपी ग्यासमा प्रतिसिलिन्डर १०० रुपैयाँले मूल्य घटाइएको छ ।

नयाँ मूल्यअनुसार अब १४.२ केजी क्षमताको एलपी ग्यास सिलिन्डरको मूल्य २ हजार ६० रुपैयाँ कायम भएको छ । यसअघि उक्त ग्यासको मूल्य २ हजार १६० रुपैयाँ थियो । यस्तै, आन्तरिक हवाई इन्धनको मूल्य प्रतिलिटर २२९ रुपैयाँ निर्धारण गरिएको निगमले जनाएको छ ।

निगमका अनुसार भारतीय आयल कर्पोरेसन (आईओसी) बाट प्राप्त नयाँ खरिद मूल्यमा पेट्रोल, डिजेल, हवाई इन्धन र ग्यासको लागत उल्लेखनीय रूपमा घटेपछि स्वदेशमा पनि उपभोक्तालाई राहत दिने गरी मूल्य समायोजन गरिएको हो ।

अन्तर्राष्ट्रिय उडानतर्फ प्रयोग हुने हवाई इन्धनको मूल्य काठमाडौंका लागि प्रतिकिलोलिटर २६५ अमेरिकी डलरले घटाएर १ हजार ५६६ अमेरिकी डलर कायम गरिएको छ ।

पोखरा र भैरहवास्थित अन्तर्राष्ट्रिय विमानस्थलका लागि भने ‘ब्रेकइभन पोइन्ट’ अर्थात् नाफा–नोक्सान नहुने आधारमा क्रमशः १ हजार १०० अमेरिकी डलर र १ हजार ८५ अमेरिकी डलर प्रतिकिलोलिटर मूल्य तोकिएको निगमले जनाएको छ ।

नेपाल आयल निगमले पछिल्ला केही महिनामा अन्तर्राष्ट्रिय बजारमा इन्धनको मूल्यमा उतारचढाव भइरहे पनि खरिद मूल्यमा आएको पछिल्लो गिरावटलाई आधार बनाएर उपभोक्तालाई राहत दिने उद्देश्यले मूल्य समायोजन गरिएको जनाएको छ ।

निगमका अनुसार नयाँ मूल्य बुधबार बिहानदेखि देशभर लागू हुनेछ ।