रास्वपाको केन्द्रीय सदस्यमा मधेशबाट पाँच जना निर्वाचित

चितवन, १२ असार । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय सदस्यमा मधेश प्रदेशबाट पाँच जना निर्वाचित भएका छन् ।
रास्वपा निर्वाचन आयोगले सार्वजनिक गरेको अन्तिम मतपरिणामअनुसार मधेश प्रदेश कोटातर्फ सुस्मा बस्नेतले सर्वाधिक १ हजार ४४१ मत प्राप्त गर्दै केन्द्रीय सदस्यमा निर्वाचित भएकी छन् ।
उनीपछि सुनिता कुमारी चौधरीले १ हजार ३०७ मत प्राप्त गरी विजयी भएकी छन् । त्यसैगरी नमिता यादवले १ हजार १५७, मञ्जु सिंहले १ हजार १३ तथा अंकित कुमार यादवले ९६७ मत प्राप्त गर्दै केन्द्रीय सदस्यमा स्थान सुरक्षित गरेका छन् ।
निर्वाचन आयोगका अनुसार मधेश प्रदेशतर्फको मतगणना सम्पन्न भएपछि अन्तिम परिणाम सार्वजनिक गरिएको हो । नवनिर्वाचित केन्द्रीय सदस्यहरूले आगामी कार्यकालमा पार्टीको नीति निर्माण, संगठन विस्तार र प्रदेशका मुद्दालाई केन्द्रीय तहमा प्रभावकारी रूपमा उठाउने जिम्मेवारी निर्वाह गर्नेछन् ।
रास्वपाको प्रथम महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयनको प्रक्रिया अन्तिम चरणमा पुगेको छ भने पदाधिकारीसहित विभिन्न पदहरूको निर्वाचन परिणाम सार्वजनिक हुने क्रम जारी छ ।

