रास्वपाको उपसभापतिमा सोबिता गौतम निर्वाचित

चितवन, १२ असार । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को उपसभापतिमा सोबिता गौतम निर्वाचित भएकी छन् ।
प्रथम महाधिवेशनअन्तर्गत शुक्रबार सम्पन्न पदाधिकारी निर्वाचनमा गौतमले ७८९ मत प्राप्त गर्दै विजय हासिल गरेकी हुन् । उनकी निकटतम प्रतिस्पर्धी तोसिमा कार्कीले ५७२ मत प्राप्त गरिन् ।
पदाधिकारी निर्वाचनमा कुल १ हजार २८९ मत खसेको निर्वाचन समितिले जनाएको छ । यसअघि केन्द्रीय सदस्य पदका लागि भएको निर्वाचनमा भने २ हजार ९५९ मत खसेको थियो । त्यसको तुलनामा पदाधिकारी निर्वाचनमा १ हजार ६७० मत कम खसेको देखिएको छ ।
महाधिवेशनस्थलबाट केही प्रतिनिधि पदाधिकारी निर्वाचनअघि नै मतदान नगरी फर्किएपछि मतदान संख्या उल्लेखनीय रूपमा घटेको बताइएको छ ।
गत असार ७ गतेदेखि सुरु भएको रास्वपाको प्रथम महाधिवेशन नयाँ नेतृत्व चयनको अन्तिम चरणमा पुगेको छ । पदाधिकारीहरूको निर्वाचन प्रक्रिया सम्पन्न भएसँगै महाधिवेशन पनि समापन हुने पार्टीले जनाएको छ ।

