चितवन, १२ असार । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को महामन्त्रीमा विपिन आचार्य निर्वाचित भएका छन् ।

पार्टीको प्रथम महाधिवेशनअन्तर्गत सम्पन्न निर्वाचनबाट आचार्य महामन्त्री पदमा निर्वाचित भएका हुन् । यसअघि उनी पार्टीको सहमहामन्त्रीको जिम्मेवारीमा रहेका थिए ।

पार्टी संगठन विस्तार, नीति निर्माण तथा संगठनात्मक व्यवस्थापनमा सक्रिय रहेका आचार्यले अब महामन्त्रीको रूपमा पार्टीको दैनिक संगठनात्मक गतिविधि र प्रशासनिक जिम्मेवारी सम्हाल्नेछन् ।

महाधिवेशनमार्फत नयाँ नेतृत्व चयन भइरहेका बेला आचार्यको निर्वाचितसँगै पार्टीको संगठनात्मक संरचनाले नयाँ स्वरूप पाउने विश्वास गरिएको छ ।

रास्वपाले महाधिवेशनमार्फत विभिन्न पदाधिकारी तथा केन्द्रीय सदस्यहरूको निर्वाचन प्रक्रिया अघि बढाइरहेको छ । निर्वाचनको पूर्ण नतिजा सार्वजनिक हुने क्रम जारी रहेको निर्वाचन समितिले जनाएको छ ।