नतिजा प्रणालीप्रति उठेका प्रश्नबीच शिक्षामन्त्रीको प्रष्टीकरण, विशेष समिति गठन

काठमाडौं, ११ असार । राष्ट्रिय परीक्षा बोर्डको नतिजा प्रकाशन प्रक्रियाप्रति शिक्षा मन्त्रालय पूर्ण रूपमा स्पष्ट र विश्वस्त रहेको शिक्षामन्त्री सस्मित पोखरेलले बताएका छन् ।
नतिजा ढिलाइ वा हतारका कारण नभई आवश्यक प्राविधिक तथा प्रशासनिक तयारीपछि नै तोकिएकै समयसीमाभित्र सार्वजनिक गरिएको उनको दाबी छ ।
मन्त्रालयले नतिजा प्रक्रिया समयमै सम्पन्न गर्न अतिरिक्त जनशक्ति परिचालन गर्नुका साथै प्रशासनिक झन्झटहरू न्यूनिकरण गरिएको मन्त्री पोखरेलले स्पष्ट पारे । उनका अनुसार प्रक्रियालाई छिटो र विश्वसनीय बनाउन प्रणालीगत सुधारहरू पनि अपनाइएको हो ।
नतिजा प्रणालीप्रति उठिरहेका प्रश्न र विरोधप्रति संकेत गर्दै मन्त्री पोखरेलले नागरिक तथा विद्यार्थीहरूलाई आफ्ना धारणा शान्तिपूर्ण रूपमा राख्ने लोकतान्त्रिक अधिकार रहेको उल्लेख गरे । तर, आन्दोलनका नाममा हुने अवाञ्छित गतिविधि वा भ्रम फैलाउने प्रयासप्रति मन्त्रालय सचेत रहेको उनले बताए ।
यसै क्रममा आन्दोलनरत विद्यार्थीहरूलाई लक्षित गर्दै सामाजिक सञ्जाल तथा केही सञ्चारमाध्यममा देखिएका अपमानजनक र आक्रोशपूर्ण टिप्पणीप्रति मन्त्री पोखरेलले गम्भीर ध्यानाकर्षण भएको जनाएका छन् । उनले शान्तिपूर्ण आन्दोलनमा रहेका कुनै पनि व्यक्ति वा समूहविरुद्ध गालीगलौज, दुव्र्यवहार वा असम्मानजनक अभिव्यक्ति प्रयोग नगर्न सबै पक्षलाई आग्रह गरेका छन् ।
परीक्षा प्रणालीको विश्वसनीयता र पारदर्शिता कायम राख्न शिक्षा मन्त्रालयले विशेष समिति गठन गरेको पनि उनले जानकारी दिए । उक्त समितिले उत्तरपुस्तिकाको नमूना परीक्षण (स्याम्पलिङ), प्राप्ताङ्कको पुनःजाँच तथा डेटा इन्ट्रीको प्रमाणीकरण गर्ने कार्य गर्नेछ ।
यसैबीच, परीक्षाको उत्तरपुस्तिका परीक्षण प्रक्रिया र नतिजा प्रणालीमा असन्तुष्टि जनाउँदै बिहीबार विद्यार्थीहरूले माइतीघर मण्डलामा प्रदर्शन गरेका थिए । उनीहरूले मूल्यांकन प्रक्रियामा पारदर्शिता र निष्पक्षता सुनिश्चित गर्न माग गरेका छन् ।

