एमाले उपाध्यक्ष विष्णु पौडेल पक्राउ

काठमाडौ, ०८ असार । नेकपा एमालेका उपाध्यक्ष तथा पूर्वअर्थमन्त्री विष्णुप्रसाद पौडेललाई सम्पत्ति शुद्धीकरणसम्बन्धी अनुसन्धानका क्रममा नियन्त्रणमा लिइएको छ ।
प्रहरी स्रोतका अनुसार सम्पत्ति शुद्धीकरण विभागको समन्वयमा उनलाई पक्राउ गरी थप अनुसन्धान प्रक्रिया अघि बढाइएको हो ।
उच्च सुरक्षा स्रोतका अनुसार पौडेलमाथि सेयर कारोबार तथा सम्पत्तिको स्रोतबारे उठेका शंकासम्बन्धी विषयमा अनुसन्धान भइरहेको छ । सोही अनुसन्धानका आधारमा उनलाई नियन्त्रणमा लिइएको जनाइएको छ ।
पार्टीको संगठन सुदृढीकरणसम्बन्धी कार्यक्रमका लागि सुर्खेत पुगेका बेला पौडेललाई कार्यक्रमस्थलबाटै नियन्त्रणमा लिइएको स्रोतले जनाएको छ । हाल उनलाई जिल्ला प्रहरी कार्यालयमा राखिएको छ भने थप अनुसन्धानका लागि काठमाडौं ल्याउने तयारी भइरहेको बताइएको छ ।
सुरक्षा स्रोतका अनुसार उनलाई हवाई वा स्थलमार्गमध्ये उपयुक्त माध्यमबाट काठमाडौं ल्याइनेछ । पौडेल एमालेका वरिष्ठ नेता तथा पूर्वअर्थमन्त्रीसमेत हुन् ।
यद्यपि, यस विषयमा सम्पत्ति शुद्धीकरण विभाग र प्रहरीका तर्फबाट औपचारिक धारणा सार्वजनिक हुन बाँकी छ ।

