काठमाडौं, ०४ असार । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नक्कली शैक्षिक प्रमाणपत्र पेश गरी सरकारी सेवामा प्रवेश गरेको आरोपमा नेपाल प्रज्ञा प्रतिष्ठानका एक कर्मचारीविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

आयोगले नेपाल प्रज्ञा प्रतिष्ठान कमलादीमा कार्यरत रंगमञ्च सहायक रामकुमार बोहराविरुद्ध आरोपपत्र दायर गरेको जनाएको छ ।

अख्तियारका अनुसार बोहराले शैक्षिक योग्यतासम्बन्धी झुट्टा विवरण तथा नक्कली प्रमाणपत्र प्रयोग गरी सरकारी सेवामा स्थायी नियुक्ति लिएका थिए ।

अनुसन्धानका क्रममा उनले तरुण माध्यमिक विद्यालय, बालाजुबाट जारी भएको भनिएको सेन्टअप (कक्षा १०) को मार्कसिट, ट्रान्सफर सर्टिफिकेटलगायतका कागजात नक्कली रहेको खुल्न आएको आयोगले जनाएको छ । ती कागजातका आधारमा उनले २०६९ मंसिर १ गतेदेखि लागू हुने गरी राजपत्र अनंकित तृतीय श्रेणी सरहको रंगमञ्च सहायक पदमा नियुक्ति प्राप्त गरेका थिए ।

अख्तियारका प्रवक्ता सुरेश न्यौपानेका अनुसार बोहराले उक्त पदमा रहँदा तलब, भत्ता तथा अन्य सरकारी सुविधा समेत उपभोग गर्दै आएका थिए ।

आयोगले उनको कार्यलाई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १६ अन्तर्गतको कसुर ठहर गर्दै सोही दफाबमोजिम कैद र जरिवानाको सजाय मागसहित विशेष अदालतमा मुद्दा दायर गरेको जनाएको छ ।

अख्तियारले सरकारी सेवामा प्रवेशका लागि नक्कली शैक्षिक प्रमाणपत्र प्रयोग गर्ने प्रवृत्तिविरुद्ध कानुनी कारबाहीलाई निरन्तरता दिइने जनाएको छ ।