जनकपुरधाम, ३० जेठ । नेपाली कांग्रेसका पूर्वउपसभापति विमलेन्द्र निधिले पार्टीभित्र देखिएको आन्तरिक विभाजन अन्त्य गरी आगामी १५औँ महाधिवेशन एकताबद्ध रूपमा सम्पन्न गर्नुपर्नेमा जोड दिएका छन् ।

उनले कांग्रेसभित्र विशेष महाधिवेशन पक्षधर र १४औँ महाधिवेशन पक्षधरबीचको मतभेदले संगठन कमजोर बनेको भन्दै अब सहमति र सहकार्यका साथ अघि बढ्नुपर्ने बताएका हुन् ।

जनकपुरधाममा आयोजित नेपाली कांग्रेसको मधेश प्रदेश स्तरीय कार्यकर्ता भेलालाई सम्बोधन गर्दै निधिले निर्वाचनको मिति घोषणा भइसकेपछि निर्वाचन केन्द्रित कार्यक्रमबाहेक अन्य गतिविधि नगर्नुपर्ने भए पनि विशेष महाधिवेशन गरिएकाले पार्टीभित्र विवाद चुलिएको दाबी गरे ।

उनले त्यसले संगठनात्मक एकता कमजोर बनाउनुका साथै कांग्रेसको राजनीतिक प्रभावमा समेत असर परेको बताए ।

पार्टीलाई पुनः सशक्त बनाउन सबै पक्षबीच संवाद, सहमति र एकताको वातावरण निर्माण गर्न आवश्यक रहेको उल्लेख गर्दै निधिले १५औँ महाधिवेशनलाई साझा नेतृत्व र साझा सहभागिताका आधारमा सम्पन्न गर्नुपर्ने धारणा राखे ।

कांग्रेसभित्रको आन्तरिक लोकतन्त्रलाई बलियो बनाउँदै संगठनलाई जनमुखी र सक्रिय बनाउनु समयको आवश्यकता रहेको उनको भनाइ थियो ।

निधिले वर्तमान नेतृत्वप्रति असन्तुष्टि जनाउँदै प्रतिशोध र दुराशयको भावनाले पार्टी सञ्चालन हुन नसक्ने बताए । उनले कांग्रेसजस्तो लोकतान्त्रिक पार्टीमा सबैको सम्मानजनक सहभागिता सुनिश्चित हुनुपर्ने र एकलौटी निर्णय प्रक्रियाले संगठनलाई थप कमजोर बनाउने चेतावनी दिए ।

भेलामा बोल्दै कांग्रेसका पूर्व सहमहामन्त्री उमाकान्त चौधरीले चुनावअघि विशेष महाधिवेशन गरिनुले पार्टीभित्रको विवादलाई थप गहिरो बनाएको टिप्पणी गरे ।

उनले निर्वाचनमा व्यहोरेको पराजयबाट पार्टीले गम्भीर समीक्षा गर्नुपर्ने आवश्यकता औंल्याउँदै आन्तरिक मतभेद अन्त्य गरी संगठनलाई पुनः एक ढिक्का बनाउनुपर्ने बताए ।

कार्यक्रममा नेता आनन्दप्रसाद ढुंगाना, पूर्व केन्द्रीय सदस्य मोहन बस्नेत, मधेश प्रदेशका विभिन्न जिल्लाका जिल्ला तथा क्षेत्रीय सभापतिहरू लगायत ठूलो संख्यामा नेता कार्यकर्ताको उपस्थिति रहेको थियो ।

भेलामा सहभागी अधिकांश वक्ताले पार्टीभित्रको विवाद समाधान, संगठन सुदृढीकरण तथा आगामी महाधिवेशन सहमतिपूर्ण वातावरणमा सम्पन्न गर्नुपर्नेमा जोड दिएका थिए ।

वक्ताहरूले कांग्रेसलाई पुनः जनविश्वासको केन्द्रका रूपमा स्थापित गर्न एकता, अनुशासन र संगठनात्मक मजबुती अपरिहार्य रहेको धारणा व्यक्त गरेका थिए ।