प्रधानमन्त्रीको अभिव्यक्तिलाई लिएर श्रम संस्कृति पार्टी सडकमा

काठमाडौं, २३ जेठ । प्रधानमन्त्री वालेन्द्र शाहले संसदमा दिएको सीमा सम्बन्धी अभिव्यक्तिको विरोध गर्दै श्रम संस्कृति पार्टीले शनिबार काठमाडौंको माइतीघर मण्डलामा प्रदर्शन गरेको छ ।
पार्टीले प्रधानमन्त्रीको भनाइ राष्ट्रिय हित र राष्ट्रिय स्वाभिमानविपरीत रहेको आरोप लगाउँदै खबरदारी सभासहित विरोध कार्यक्रम आयोजना गरेको हो ।
प्रदर्शनमा सहभागीहरूले प्रधानमन्त्रीले नेपाल–भारत सीमाका विषयमा दिएको अभिव्यक्ति तथ्यहीन र गैरजिम्मेवार भएको दाबी गर्दै उक्त वक्तव्य तत्काल फिर्ता लिन माग गरेका थिए ।
उनीहरूले ‘नेपाली माटोको रक्षा गरौं’, ‘राष्ट्रको सम्मान जोगाऔं’ तथा ‘गैरजिम्मेवार अभिव्यक्तिको विरोध गरौं’ लगायतका नारासहित प्लेकार्ड प्रदर्शन गरेका थिए ।
कार्यक्रमलाई सम्बोधन गर्दै श्रम संस्कृति पार्टीका सांसद आरेन राईले सीमासम्बन्धी विषय अत्यन्त संवेदनशील भएकाले जिम्मेवार पदमा रहेका व्यक्तिबाट आउने अभिव्यक्ति तथ्यमा आधारित र राष्ट्रिय हितअनुकूल हुनुपर्ने बताए ।
उनले सीमा विवाद र सीमा अतिक्रमणका विषयलाई एउटै रूपमा व्याख्या गर्न नमिल्ने उल्लेख गर्दै प्रधानमन्त्रीको अभिव्यक्तिले भ्रम सिर्जना गरेको आरोप लगाए ।
राईले विश्वका धेरै देशबीच सीमा सम्बन्धी विवाद हुन सक्ने भए पनि त्यसलाई राष्ट्रिय भूमि अतिक्रमणको विषयसँग जोडेर हेर्न नहुने धारणा राखे । उनले संसद र सार्वजनिक मञ्चमा आफ्नो पार्टीले उठाउँदै आएको राष्ट्रिय हितको मुद्दामा अडान कायम राख्ने पनि बताए ।
श्रम संस्कृति पार्टीले सरकारलाई सीमा सम्बन्धी विषयमा धारणा सार्वजनिक गर्न तथा राष्ट्रिय स्वाभिमानसँग जोडिएका मुद्दामा जिम्मेवार बन्न आग्रह गरेको छ । प्रदर्शन शान्तिपूर्ण रूपमा सम्पन्न भएको थियो ।

