काठमाडौं, २२ जेठ । उपराष्ट्रपति कार्यालयमा कार्यरत सचिव डा. कृष्णहरि पुष्करलाई प्रधानमन्त्रीलाई पठाएको एक सन्देशको विषयलाई लिएर प्रहरीले नियन्त्रणमा लिएर सोधपुछ गरेपछि बिहीबार राति रिहा गरेको छ ।

प्रहरी स्रोतका अनुसार कार्यालयको काम सकेर घर फर्किरहेका पुष्करलाई काठमाडौंको कपनस्थित निवास नजिकै उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले रोकेर टेकुस्थित कार्यालयमा लगेको थियो । त्यहाँ उनीसँग प्रधानमन्त्री बालेन्द्र शाहलाई पठाएको सन्देशबारे लामो समयसम्म सोधपुछ गरिएको बताइएको छ ।

अनुसन्धानमा संलग्न अधिकारीहरूका अनुसार पुष्करले हालै सरकारले आह्वान गरेको राजदूत नियुक्तिसम्बन्धी प्रक्रियाबारे प्रधानमन्त्री शाहलाई व्यक्तिगत सन्देश पठाएका थिए । सन्देशमा आफू अवकाश नजिक पुगेको उल्लेख गर्दै राजदूत पदका लागि आवेदन दिने वा नदिने विषयमा मार्गनिर्देशन मागिएको थियो ।

सोधपुछका क्रममा प्रहरीले उक्त सन्देशको उद्देश्य र पृष्ठभूमिबारे जानकारी लिएको जनाएको छ । राति करिब १० बजेतिर पुष्करलाई उनकी पत्नी आभा श्रेष्ठको जिम्मा लगाएर रिहा गरिएको स्रोतले बताएको छ ।

प्रहरी स्रोतका अनुसार प्रारम्भिक चरणमा उनलाई कानुनी प्रक्रिया अगाडि बढाउने तयारी भए पनि पछि उच्च तहबाट आएको निर्देशनपछि थप कारबाही नगरी छाडिएको थियो ।

घटनापछि कानुनी आधारबिना एक बहालवाला सचिवलाई नियन्त्रणमा लिइएको विषयले प्रशासनिक र राजनीतिक वृत्तमा चर्चा पाएको छ । केही अधिकारीहरूले सामान्य प्रकृतिको सन्देशका आधारमा पक्राउ र सोधपुछ गरिनु उचित भए–नभएको विषयमा प्रश्न उठाएका छन् ।

इता, प्रधानमन्त्रीको सचिवालयले भने पुष्करले औपचारिक प्रशासनिक प्रक्रिया तथा ‘चेन अफ कमान्ड’ पालना नगरी व्यक्तिगत स्वार्थका लागि प्रत्यक्ष रूपमा प्रधानमन्त्रीलाई सम्पर्क गरेको दाबी गरेको छ ।

पूर्व अर्थसचिवसमेत रहेका पुष्कर मुख्यसचिव पदका आकांक्षीमध्ये एक थिए । तर, सरकारले यसअघि सुमनराज अर्याललाई मुख्यसचिव नियुक्त गरेपछि उनी उक्त दौडबाट बाहिरिएका थिए । हाल उनी केही समयमै अनिवार्य अवकाशमा जाने तयारीमा छन् ।