काठमाडौं, २२ जेठ । प्रधानमन्त्रीले संसदमा दिएको सीमा सम्बन्धी अभिव्यक्ति राष्ट्रिय हितविपरीत रहेको आरोप लगाउँदै विद्यार्थीहरूले काठमाडौंमा विरोध प्रदर्शन गरेका छन् ।

त्रिचन्द्र बहुमुखी क्याम्पसका विद्यार्थीहरूले शुक्रबार घण्टाघर क्षेत्रमा भेला भई प्रधानमन्त्रीको अभिव्यक्ति फिर्ता लिन माग गर्दै प्रदर्शन गरेका हुन् ।

प्रदर्शनका क्रममा विद्यार्थीहरूले राष्ट्रिय अखण्डता, सार्वभौमिकता र स्वाभिमानको पक्षमा नाराबाजी गर्नुका साथै विभिन्न सन्देशमूलक प्लेकार्ड प्रदर्शन गरेका थिए ।

‘राष्ट्रिय अखण्डताको पक्षमा एकजुट बनौं’, ‘देशको सीमा र स्वाभिमान हाम्रो प्राण’ तथा ‘हाम्रो भूमि, हाम्रो शान’ लगायतका नारा लेखिएका प्लेकार्डसहित उनीहरूले सरकारको ध्यानाकर्षण गराएका थिए ।

प्रदर्शनमा सहभागी विद्यार्थी मनोज भण्डारीले प्रधानमन्त्रीले संसदमा दिएको अभिव्यक्ति देशको गरिमा र राष्ट्रिय भावनाअनुकूल नभएको दाबी गर्दै त्यसप्रति असन्तुष्टि जनाएका हुन् ।

उनले उक्त अभिव्यक्तिबारे प्रधानमन्त्रीले संसदमार्फत सार्वजनिक रूपमा माफी नमागेसम्म आन्दोलन जारी रहने चेतावनी दिए ।

विद्यार्थीहरूले राष्ट्रिय सरोकारका विषयमा सरकार संवेदनशील बन्नुपर्ने तथा सीमा जस्तो संवेदनशील विषयमा जिम्मेवार अभिव्यक्ति दिनुपर्ने धारणा राखेका छन् । प्रदर्शन शान्तिपूर्ण रूपमा सम्पन्न भएको थियो ।