सम्पर्कविहीन निजामती कर्मचारीलाई तीन दिनभित्र हाजिर हुन सरकारको निर्देशन

काठमाडौं, २२ जेठ । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयअन्तर्गत संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सम्पर्कविहीन रहेका निजामती कर्मचारीलाई तीन दिनभित्र आफ्नो विवरण अद्यावधिक गरी हाजिर हुन निर्देशन दिएको छ ।
तोकिएको समयभित्र सम्पर्कमा नआए कानुनबमोजिम कारबाही प्रक्रिया अघि बढाइने मन्त्रालयले जनाएको छ ।
मन्त्रालयले शुक्रबार सार्वजनिक सूचना जारी गर्दै अध्ययन बिदा तथा असाधारण बिदामा रहेका तर सम्बन्धित अभिलेख राष्ट्रिय किताबखाना (निजामती) मा अद्यावधिक नभएका कर्मचारीलाई तत्काल आफ्नो विवरण सच्याउन आग्रह गरेको हो ।
सूचनाअनुसार नेपाल सरकारका विभिन्न मन्त्रालय, आयोग, सचिवालय तथा केन्द्रीयस्तरका कार्यालयलाई पनि आफ्नो मातहतका कर्मचारीको अभिलेख यकिन गर्न निर्देशन दिइएको छ ।
अध्ययन बिदा वा असाधारण बिदा स्वीकृत भएका कर्मचारीको बिदा अवधि समाप्तिपछि उनीहरू कार्यालयमा हाजिर भए–नभएको विवरण राष्ट्रिय किताबखानासँग समन्वय गरी अद्यावधिक गर्न मन्त्रालयले आग्रह गरेको छ ।
मन्त्रालयले कर्मचारी प्रशासनलाई व्यवस्थित, पारदर्शी र अभिलेख प्रणालीलाई अद्यावधिक राख्न यस्तो कदम चालिएको जनाएको छ ।
समयसीमाभित्र विवरण नबुझाउने तथा सम्पर्कमा नआउने कर्मचारीमाथि प्रचलित कानुनअनुसार आवश्यक कारबाही प्रक्रिया अघि बढाइने मन्त्रालयको चेतावनी छ ।

