सभामुखको अभिव्यक्ति रेकर्डबाट हटाउन एमालेको माग

काठमाडौं, १७ जेठ । नेकपा एमालेले प्रतिनिधिसभा बैठकमा सभामुख डोलप्रसाद अर्यालले व्यक्त गरेको धारणा संसद्को रेकर्डबाट हटाउन माग गरेको छ ।
प्रतिनिधिसभाको बैठकमा एमालेका प्रमुख सचेतक ऐन महरले सभामुखले प्रतिनिधिसभा नियमावली, २०७९ को गलत व्याख्या गरेको भन्दै उक्त अभिव्यक्ति रेकर्डबाट हटाउन माग गरेका हुन् ।
प्रधानमन्त्रीसँगको आकस्मिक प्रश्नोत्तर कार्यक्रम सञ्चालन गर्ने विषयमा छलफल भइरहेका बेला विपक्षी दलहरूले नियमावलीको व्यवस्था उठाएका थिए ।
त्यसक्रममा सभामुख अर्यालले नियमावलीमा ‘१५ जना सदस्यले मात्र प्रश्न सोध्न पाउने’ भन्ने व्यवस्था स्पष्ट रूपमा उल्लेख नभएको टिप्पणी गरेका थिए ।
सभामुखले बैठकमा भनेका थिए, ‘नियमावलीको कुनै नियममा पनि १५ जनाले प्रश्न सोध्न पाउने भन्ने लिखित व्यवस्था छैन ।’
तर, एमाले प्रमुख सचेतक महरले सभामुखको उक्त भनाइ नियमावलीको नियम ५६ को उपनियम (५) सँग बाझिएको दाबी गरे ।
उनका अनुसार उपनियम (५) मा एक दिनको बैठकमा बढीमा १५ जना सदस्यले मात्र प्रश्न सोध्न सक्ने स्पष्ट व्यवस्था गरिएको छ ।
उक्त उपनियममा, ‘यस नियम अन्तर्गत प्रश्न गर्दा एक दिनको बैठकमा बढीमा पन्ध्र जना सदस्यले मात्र प्रश्न सोध्न सक्नेछन् । एउटा सदस्यले सोधेको प्रश्नको जवाफ दिइसकेपछि क्रमशः अर्को प्रश्नकर्ता सदस्यको नाम बोलाइनेछ,’भन्ने उल्लेख छ ।
एमालेले सभामुखबाटै नियमावलीको गलत व्याख्या भएको भन्दै संसद्को अभिलेखबाट उक्त अभिव्यक्ति हटाउन र नियमावलीअनुसार कार्य सञ्चालन गर्न आग्रह गरेको छ ।


