प्रधानमन्त्री शाहको अभिव्यक्तिमाथि भीम रावलको आपत्ति, ‘नैतिक रूपमा पदमा बस्ने अधिकार छैन’

काठमाडौं, १७ जेठ । नेकपाका नेता भीम रावलले प्रधानमन्त्री बालेन्द्र शाहले संसद्मा दिएको अभिव्यक्तिप्रति कडा आपत्ति जनाउँदै पदमा बसिरहने नैतिक आधार गुमाएको टिप्पणी गरेका छन् ।
प्रधानमन्त्री शाहले प्रतिनिधिसभाको आइतबारको बैठकमा सांसदहरूको प्रश्नको जवाफ दिने क्रममा नेपालले पनि केही स्थानमा भारतको भूमि मिचेको जानकारी आफूले प्रधानमन्त्री बनेपछि पाएको बताएका थिए ।
उक्त अभिव्यक्तिलाई लिएर रावलले सामाजिक सञ्जाल फेसबुकमार्फत तीव्र प्रतिक्रिया दिएका हुन् ।
रावलले नेपालको सार्वभौमसत्ता, भौगोलिक अखण्डता र राष्ट्रिय सुरक्षाको संरक्षण गर्नु प्रधानमन्त्रीको प्रमुख दायित्व भएको उल्लेख गर्दै त्यसको विपरीत संसद्मा नेपालले भारतको भूभाग अतिक्रमण गरेको जस्तो अभिव्यक्ति दिनु गम्भीर विषय भएको बताएका छन् ।
उनले प्रधानमन्त्रीको भनाइलाई ‘अत्यन्त आपत्तिजनक’ भन्दै नेपालले भारतको भूमि मिचेको भन्ने दाबी तथ्यहीन रहेको आरोप लगाए । रावलका अनुसार यस्तो अभिव्यक्ति दिने व्यक्तिले प्रधानमन्त्री पदमा निरन्तर रहन नैतिक वैधता गुमाउँछन् ।
साथै उनले प्रधानमन्त्री शाहले नेपालले भारतको भूमि कहाँ, कति र कहिलेदेखि अतिक्रमण गरेको हो भन्नेबारे तत्काल स्पष्ट जानकारी सार्वजनिक गर्नुपर्ने माग गरेका छन् । राष्ट्रिय हितसँग जोडिएको विषय भएकाले जनताले पनि प्रधानमन्त्रीसँग स्पष्ट जवाफ माग्नुपर्ने उनको भनाइ छ ।
रावलले प्रधानमन्त्रीको अभिव्यक्ति प्रकारान्तरले नेपालको भूभागबारे भ्रम सिर्जना गर्ने खालको रहेको दाबी गर्दै यस विषयमा सरकार र सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टीले समेत आफ्नो धारणा सार्वजनिक गर्नुपर्ने बताए ।
उनले नेपालको स्वाधीनता, स्वाभिमान र भौगोलिक अखण्डतामाथि कुनै पनि प्रकारको प्रश्न उठ्ने अवस्था स्वीकार्य नहुने उल्लेख गर्दै राष्ट्रिय हितका विषयमा सरकार जिम्मेवार र स्पष्ट हुनुपर्नेमा जोड दिएका छन् ।


