भारतले मात्र होइन, नेपालले पनि भारतको भूमि मिचेको छ: प्रधानमन्त्री शाह

काठमाडौं, १७ जेठ । प्रधानमन्त्री बालेन्द्र शाहले नेपाल–भारत सीमा सम्बन्धी विवादलाई कूटनीतिक संवाद र आपसी वार्तामार्फत समाधान गर्ने प्रयास भइरहेको बताएका छन् ।
प्रतिनिधिसभाको बैठकमा सांसदहरूले उठाएका प्रश्नको जवाफ दिँदै प्रधानमन्त्री शाहले सीमा विवाद संवेदनशील विषय भएकाले दुवै देशका प्रतिनिधि बसेर तथ्यका आधारमा छलफल गर्नुपर्ने आवश्यकता रहेको बताए ।
प्रधानमन्त्री शाहले नेपालले भारतको भूमि अतिक्रमण गरेको तथा भारतले नेपालको भूमि मिचेको विषय दुवैतर्फबाट उठ्ने गरेको उल्लेख गर्दै वास्तविक अवस्था अध्ययन र वार्ताबाट स्पष्ट पार्नुपर्ने धारणा राखे ।
उनले आफू प्रधानमन्त्री बनेपछि सीमा सम्बन्धी विभिन्न तथ्यबारे जानकारी प्राप्त गरेको बताए ।
लिपुलेक, लिम्पियाधुरा लगायतका क्षेत्रसँग सम्बन्धित विषयमा नेपालले भारत सरकारलाई पठाएको पत्रको जवाफ प्राप्त भइसकेको जानकारी दिँदै उनले अब दुवै पक्षबीच औपचारिक तहमा ‘टेबल टक’ अर्थात् प्रत्यक्ष वार्ता गर्ने वातावरण तयार भइरहेको बताए ।
प्रधानमन्त्री शाहका अनुसार सीमा विवाद समाधानका लागि सम्बन्धित पक्षहरूसँग निरन्तर कूटनीतिक पहल भइरहेको छ । उनले ऐतिहासिक दस्तावेज, नक्सा र प्रमाणका आधारमा दुवै देशबीच सहमतिमार्फत समाधान खोजिने विश्वास व्यक्त गरे ।
नेपाल–भारत सीमा विवाद लामो समयदेखि दुई देशबीचको संवेदनशील विषय रहँदै आएको छ । विशेषगरी लिपुलेक, कालापानी र लिम्पियाधुरा क्षेत्रलाई लिएर नेपालले आफ्नो दाबी प्रस्तुत गर्दै आएको छ ।
सरकारले यस विषयलाई वार्ता र कूटनीतिक माध्यमबाट टुंगोमा पुर्याउने नीति अवलम्बन गरेको जनाएको छ ।


