चुरोट, रक्सी र बियरमा कर वृद्धि

काठमाडौं, १५ जेठ । सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ को बजेटमार्फत चुरोट, रक्सी र बियरमा लाग्ने अन्तःशुल्क वृद्धि गरेको छ ।
संघीय संसद्को संयुक्त बैठकमा बजेट प्रस्तुत गर्दै अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले स्वास्थ्यमा नकारात्मक असर पार्ने वस्तुको उपभोग नियन्त्रण तथा राजस्व संकलन बढाउने उद्देश्यसहित अन्तःशुल्क दर परिमार्जन गरिएको जानकारी दिएका हुन् ।
बजेटअनुसार चुरोटमा लाग्ने अन्तःशुल्क करिब १० प्रतिशतसम्म बढाइएको छ । यद्यपि रक्सी र बियरमा कति दरले कर वृद्धि गरिएको हो भन्ने विस्तृत विवरण बजेट भाषणमा खुलाइएको छैन । सरकारले पछि विस्तृत कर तालिका सार्वजनिक गर्ने जनाएको छ ।
सरकारले गैरकर राजस्व संकलनलाई प्रभावकारी बनाउन छाता कानुन ल्याउने घोषणा पनि गरेको छ । अर्थमन्त्री वाग्लेले विभिन्न शीर्षकमा उठाइने गैरकर राजस्वलाई व्यवस्थित र पारदर्शी बनाउन नयाँ कानुनी व्यवस्था आवश्यक रहेको बताएका छन् ।
बजेटमा अपाङ्गता भएका व्यक्तिका लागि प्रयोग हुने कृत्रिम हातखुट्टा तथा सहयोगी सामग्री उत्पादन गर्ने उद्योगलाई प्रोत्साहन गर्ने नीति समेत समावेश गरिएको छ । त्यस्ता उद्योगले आयात गर्ने कच्चापदार्थमा भन्सार महसुल छुट दिने व्यवस्था गरिएको सरकारले जनाएको छ ।
त्यसैगरी आवासीय भवनको बीमालाई प्रोत्साहन गर्न बीमाबापत तिर्ने रकममध्ये अधिकतम १० हजार रुपैयाँसम्म आयकर प्रयोजनका लागि कट्टी गर्न पाउने व्यवस्था गरिएको छ ।
विकास निर्माण आयोजनाका लागि जग्गा प्राप्त गर्दा सरकारी मूल्यांकनसम्मको रकममा पूँजीगत लाभकर नलाग्ने व्यवस्था पनि बजेटमा समावेश गरिएको छ । यसले ठूला आयोजना कार्यान्वयनमा सहजता आउने सरकारको विश्वास छ ।
कृषि क्षेत्रलाई प्रोत्साहन गर्न कृषि प्रशोधन उद्योगलाई पहिलो १० वर्षसम्म पूर्ण आयकर छुट दिने घोषणा गरिएको छ । साथै कोल्ड स्टोर, प्याकेजिङ तथा टेस्टिङ ल्याब सञ्चालनका लागि आवश्यक मेसिनरी उपकरण आयात गर्दा लाग्ने मूल्य अभिवृद्धि कर (भ्याट) छुट गरिने व्यवस्था बजेटमा गरिएको छ ।
सरकारले कर प्रणालीलाई उत्पादनमुखी, व्यवस्थित र सामाजिक उत्तरदायी बनाउने उद्देश्यसहित विभिन्न क्षेत्रमा कर छुट र कर वृद्धिको मिश्रित नीति लिएको जनाएको छ ।


