काठमाडौँ, १५ जेठ । सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ देखि लागू हुने गरी राष्ट्रसेवक कर्मचारीहरूको तलबमानमा उल्लेख्य वृद्धि गर्ने घोषणा गरेको छ ।

संघीय संसद्को संयुक्त बैठकमा बजेट प्रस्तुत गर्दै अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले कर्मचारीहरूको सुरु तलब स्केलमा १० प्रतिशत वृद्धि गरिने जानकारी दिएका हुन्।

सरकारले कार्यसम्पादनमा आधारित पारिश्रमिक प्रणाली लागू गर्ने नीति अनुसार नयाँ तलबमानमा थप १० प्रतिशत मासिक प्रोत्साहन भत्ता पनि उपलब्ध गराउने जनाएको छ । यससँगै कर्मचारीहरूले हाल पाइरहेको पारिश्रमिकमा औसतमा करिब २१ प्रतिशतसम्म वृद्धि हुने देखिएको छ ।

अर्थमन्त्री वाग्लेले बजारमा बढ्दो महँगीलाई ध्यानमा राखेर कर्मचारीलाई सम्मानजनक जीवनयापन गर्न सहज हुने गरी तलब समायोजन गरिएको बताए । उनका अनुसार नयाँ तलबमान आगामी साउन १ गतेदेखि कार्यान्वयनमा आउनेछ ।

सरकारले यसअघि २०७९ सालमा राष्ट्रसेवक कर्मचारीहरूको तलब १५ प्रतिशतले बढाएको थियो । त्यतिबेला मुख्यसचिवको आधारभूत तलब ७७ हजार २११ रुपैयाँ कायम गरिएको थियो भने शाखा अधिकृतको तलब ४३ हजार ६८९ रुपैयाँ तोकिएको थियो । अहिलेको नयाँ वृद्धिसँगै तल्लो तहका कर्मचारीको न्यूनतम पारिश्रमिक ग्रेडसहित करिब ४० हजार रुपैयाँ पुग्ने तथा माथिल्लो तहका कर्मचारीको तलब १ लाख रुपैयाँभन्दा बढी पुग्ने अनुमान गरिएको छ ।

हाल ७७ हजार २११ रुपैयाँ आधारभूत तलब रहेका मुख्यसचिवको तलब २१ प्रतिशत वृद्धिपछि करिब ९३ हजार रुपैयाँ पुग्नेछ । यसअघि थप गरिएको ७ हजार रुपैयाँ भत्ता कायम राखिने भएकाले मुख्यसचिवको मासिक पारिश्रमिक १ लाख रुपैयाँ नाघ्ने देखिएको छ । सचिवस्तरका कर्मचारीको तलबसमेत उल्लेख्य रूपमा वृद्धि हुने सरकारको दाबी छ ।

यो व्यवस्था निजामती कर्मचारी, नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, स्वास्थ्य सेवा, संसद् सेवा, परराष्ट्र सेवा, सामुदायिक विद्यालयका शिक्षक तथा विभिन्न सरकारी संस्थानमा कार्यरत राष्ट्रसेवक कर्मचारीहरूमा लागू हुनेछ ।

सरकारले महँगी भत्ता यथावत् राख्दै कार्यसम्पादनमा आधारित प्रोत्साहन भत्ता थप गरिएकाले कर्मचारीहरूको मनोबल बढ्नुका साथै सार्वजनिक सेवा प्रवाहमा समेत सकारात्मक सुधार आउने अपेक्षा गरेको जनाएको छ ।

अर्थ मन्त्रालयले विस्तृत तलबमान तालिका सार्वजनिक गरेपछि विभिन्न तहका कर्मचारीले प्राप्त गर्ने वास्तविक पारिश्रमिक स्पष्ट हुने बताइएको छ ।