जनकपुरधाम, ११ जेठ । चुरे तथा वन संरक्षण अभियानअन्तर्गत संकलित हस्ताक्षर तथा यात्राका क्रममा तयार पारिएका प्रतिवेदनहरू सार्वजनिक गर्दै सरकारलाई बुझाउने उद्देश्यसहित सुरु गरिएको राष्ट्रिय अभियान आज साँझ कञ्चनपुरस्थित महाकाली पुलमा पुगेको छ ।

चुरे तथा वन संरक्षण अभियानका राष्ट्रिय संयोजक सुनिल कुमार यादवका अनुसार अभियान अब काठमाडौँतर्फ प्रस्थान गर्दैछ ।

अभियानको अन्तिम चरणमा काठमाडौँको माइतीघर मण्डला पुगेर सार्वजनिक कार्यक्रम गर्ने र त्यहाँबाट संकलित माग तथा प्रतिवेदनहरू औपचारिक रूपमा सरकारसमक्ष बुझाइने योजना रहेको उनले जानकारी दिए ।

महाकाली पुलमा संक्षिप्त कार्यक्रम गर्दै यादवले चुरे क्षेत्रको संरक्षण अब वातावरणीय मुद्दा मात्र नभई राष्ट्रिय अस्तित्वसँग जोडिएको विषय भएको बताए ।

उनका अनुसार चुरे विनाशको गति यथावत रहेमा तराई–मधेशमा पानी संकट, खेतीयोग्य जमिनको क्षति र जैविक विविधतामा गम्भीर असर पर्ने अवस्था देखिन थालेको छ ।

‘हामीले यो यात्रा कुनै राजनीतिक स्वार्थका लागि नभई चुरे बचाउन जनताको आवाजलाई एकीकृत गर्न थालेका हौं,’यादवले भने, ‘देशभरबाट संकलित हजारौं हस्ताक्षर र स्थानीयस्तरका प्रतिवेदनहरू सरकारलाई बुझाएर तत्काल संरक्षण नीति कार्यान्वयन गर्न दबाब दिने हाम्रो उद्देश्य हो ।’

उनले चुरे क्षेत्रमा भइरहेको अवैध उत्खनन, वन फँडानी तथा नदीजन्य पदार्थको अनियन्त्रित दोहनप्रति गम्भीर चिन्ता व्यक्त गर्दै स्थानीय तहदेखि संघीय सरकारसम्म जिम्मेवार बन्नुपर्ने आवश्यकता औंल्याए ।

अभियान टोलीका अनुसार यात्राका क्रममा विभिन्न जिल्लामा स्थानीय समुदाय, किसान, युवा तथा सामाजिक अभियन्ताहरूले अभियानप्रति ऐक्यबद्धता जनाएका छन् ।

उनीहरूले चुरे संरक्षणलाई दीर्घकालीन नीति र व्यवहारिक कार्यान्वयनसँग जोड्न सरकारलाई आग्रह गरेका छन् ।

अभियान काठमाडौँ पुगेर माइतीघर मण्डलामा समापन कार्यक्रम गर्ने तयारीमा रहेको छ । त्यसपछि संकलित सबै दस्तावेज र प्रतिवेदनहरू औपचारिक रूपमा सरकारलाई बुझाइने अभियान पक्षले जनाएको छ ।