जनकपुरधाम, ०३ जेठ । जनकपुर साहित्य महोत्सवको तेस्रो दिन जानकी मन्दिरलाई विश्वसम्पदा सूचीमा सूचीकृत गर्ने विषय प्रमुख बहसको केन्द्र बनेको छ ।

आइतबार जनकपुरधाममा आयोजित विशेष सत्रमा विज्ञ, पुरातत्वविद्, मठमन्दिर व्यवस्थापन पक्ष, पत्रकार तथा राजनीतिक प्रतिनिधिहरूले मन्दिरको ऐतिहासिक महत्व, संरक्षणको अवस्था, कानुनी प्रक्रिया र राजनीतिक उपेक्षाबारे खुला छलफल गरेका हुन् ।

‘जानकी मन्दिरलाई विश्वसम्पदा: सम्भावना, चुनौती र मार्गचित्र’ विषयक सत्रमा सहभागी वक्ताहरूले जानकी मन्दिरलाई विश्वसम्पदा सूचीमा समावेश गर्न सकिने पर्याप्त आधार भए पनि त्यसका लागि राज्य, स्थानीय तह र मन्दिर व्यवस्थापन पक्षबीच समन्वय आवश्यक रहेको धारणा राखे ।

कार्यक्रमको सहजीकरण नेपाल सरकारका उपसचिव रत्नेश शशीले गरेका थिए ।

छलफलमा पुरातत्वविद् देवेन्द्र भट्टराई, जानकी मन्दिरका उत्तराधिकार महन्थ रामरोशन दास, पत्रकार मनिका झा तथा पुरातत्वविद् रामबाबु ढकाल सहभागी थिए ।

छलफलका क्रममा पुरातत्वविद् रामबाबु ढकालले सन् २००८ देखि नै जानकी मन्दिरलाई रामजानकी मन्दिरका रूपमा विश्वसम्पदा सूचीमा प्रस्ताव गर्ने प्रयास सुरु भएको जानकारी दिए ।

उनले विश्वसम्पदामा सूचीकृत हुन दुई तहको प्रक्रिया पूरा गर्नुपर्ने उल्लेख गर्दै पहिलो चरणमा मन्दिर आसपासको क्षेत्रलाई संरक्षित स्मारक क्षेत्र घोषणा गर्नुपर्ने बताए ।

उनका अनुसार परिक्रमा क्षेत्रसहितको भूभागलाई कानुनी रूपमा संरक्षण क्षेत्र घोषणा गरिएपछि मात्रै विश्वसम्पदा सूचीका लागि आवश्यक थप प्रक्रिया अघि बढ्न सक्छ ।

सम्पूर्ण प्रक्रिया व्यवस्थित रूपमा अघि बढे सन् २०३० सम्ममा जानकी मन्दिर विश्वसम्पदा सूचीमा समावेश हुने सम्भावना रहेको उनको भनाइ थियो ।

पुरातत्वविद् देवेन्द्र भट्टराईले जानकी मन्दिरको विश्वसम्पदा सूचीकरणका लागि प्रारम्भिक गृहकार्य पूरा भइसकेको दाबी गरे ।

उनले आगामी असोज मसान्तसम्म मन्दिर क्षेत्रलाई ‘प्रोटेक्टेड जोन’ घोषणा गर्ने तयारी भइरहेको जानकारी दिए । साथै, दुई साताभित्र फिल्ड अध्ययन सम्पन्न गरी सम्बन्धित मन्त्रालयमा प्रतिवेदन पठाइने उनले बताए ।

भट्टराईले विश्वसम्पदाजस्तो संवेदनशील विषयमा हतारोभन्दा प्रक्रियागत शुद्धता आवश्यक रहेको उल्लेख गर्दै स्थानीय समुदाय, धार्मिक संस्था र राज्यबीच सहकार्य अपरिहार्य रहेको धारणा राखे ।

पत्रकार मनिका झाले भने राज्यले जानकी मन्दिर र माता सीतालाई राजनीतिक भाषण र चुनावी नारामा मात्रै सीमित बनाएको आरोप लगाइन् ।

उनले निर्वाचनका बेला सीताको नाममा राजनीति गरिने तर संरक्षण र प्रवर्द्धनका सवालमा राज्यको सक्रियता कमजोर देखिएको टिप्पणी गरिन् ।

उनले यही उदासीनताका कारण ऐतिहासिक र धार्मिक दृष्टिले अत्यन्त महत्वपूर्ण मानिने जानकी मन्दिर अझै विश्वसम्पदा सूचीमा पर्न नसकेको धारणा व्यक्त गरिन् ।

उनका अनुसार मिथिला सभ्यता र सीता संस्कृतिको अन्तर्राष्ट्रिय पहिचान स्थापित गर्न राज्यले दीर्घकालीन नीति लिन आवश्यक छ ।

जानकी मन्दिरका उत्तराधिकारी महन्थ रामरोशन दासले मन्दिर निर्माण तथा संरक्षणमा सरकारको भूमिका प्रभावकारी नरहेको दाबी गरे ।

उनका अनुसार जानकी मन्दिरसहित आसपासका धेरै धार्मिक संरचना बाह्य सहयोग र श्रद्धालुहरूको योगदानबाट निर्माण भएका हुन् ।

उनले मधेश प्रदेश सरकारले मन्दिर संरक्षणका नाममा बजेट घोषणा गरे पनि त्यसको प्रभाव देखिन नसकेको तथा भ्रष्टाचार भएको आरोप लगाए ।

मन्दिरको ऐतिहासिक सम्पत्ति र जग्गा अतिक्रमण स्थानीय तहबाटै भइरहेको उल्लेख गर्दै उनले ७२ कुण्ड र ५२ कुटी हराइसकेको विषयमा सरकार गम्भीर बन्नुपर्ने बताए ।

छलफलका क्रममा विश्वसम्पदा सूचीमा समावेश भएपछि धार्मिक परम्परा र मठमन्दिरको स्वतन्त्रतामा हस्तक्षेप हुन्छ भन्ने आशंकामाथि पनि बहस भएको थियो ।

यसबारे पुरातत्वविद् रामबाबु ढकालले विश्वसम्पदा सूचीमा समावेश हुनु भनेको संरक्षण र अन्तर्राष्ट्रिय मान्यता प्राप्त गर्नु मात्रै भएको स्पष्ट पारे । उनले धार्मिक अभ्यास, पूजा पद्धति वा मठ व्यवस्थापनमा कुनै हस्तक्षेप नहुने बताए ।

कार्यक्रममा सहभागी प्रतिनिधिसभा सदस्य मनिष झाले जानकी मन्दिर व्यवस्थापन पक्षसँग मन्दिरको आय–व्यय सार्वजनिक नगर्नुको कारणबारे प्रश्न उठाए ।

उनले धार्मिक संस्थाहरूमा पारदर्शिता आवश्यक रहेको उल्लेख गर्दै जनविश्वास कायम राख्न आर्थिक विवरण सार्वजनिक गर्नुपर्ने बताए ।

साथै उनले पुरातत्व कार्यालयलाई जानकी मन्दिरको नाम परिवर्तन गरेर ‘रामजानकी मन्दिर’ नराख्न खबरदारी गरिएको जानकारीसमेत दिए । उनका अनुसार मन्दिरको मौलिक पहिचान र ऐतिहासिक नाम संरक्षण गरिनु आवश्यक छ ।

जनकपुर साहित्य महोत्सवमा भएको उक्त बहसले जानकी मन्दिरको धार्मिक महत्वसँगै यसको संरक्षण, व्यवस्थापन, राजनीतिक प्रयोग र अन्तर्राष्ट्रिय पहिचानको प्रश्नलाई पुनः राष्ट्रिय बहसको विषय बनाएको सहभागीहरूको निष्कर्ष थियो ।