काठमाडौँ, ३० बैशाख । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले निजामती कर्मचारीलाई राजनीतिक गतिविधिबाट टाढा रहन पुनः सचेत गराएको छ ।

मन्त्रालयले बुधबार सूचना जारी गर्दै कुनै पनि राजनीतिक दल, भ्रातृ संगठन वा जनवर्गीय संगठनमा आबद्ध भएमा कानुनअनुसार कारबाही गरिने जनाएको हो ।

मन्त्रालयले नेपालको संविधान तथा प्रचलित कानुनले निजामती सेवालाई राजनीतिक रूपमा तटस्थ, निष्पक्ष, व्यावसायिक र उत्तरदायी सेवाका रूपमा परिकल्पना गरेको उल्लेख गरेको छ ।

सोही आधारमा निजामती सेवा ऐन, २०४९ को दफा ६१ उपदफा (१) को खण्ड (ङ) अनुसार राजनीतिमा भाग लिने कर्मचारीलाई भविष्यमा सरकारी सेवाका लागि अयोग्य नठहरिने गरी सेवाबाट हटाउन सकिने व्यवस्था रहेको मन्त्रालयले स्मरण गराएको छ ।

सूचनामा सम्पूर्ण निजामती कर्मचारीलाई अनुशासन तथा आचरणसम्बन्धी व्यवस्था पूर्ण रूपमा पालना गर्न आग्रह गरिएको छ ।

साथै, राजनीतिक दलको सदस्यता लिने, राजनीतिक गतिविधिमा संलग्न हुने वा राजनीतिक पदका लागि हुने निर्वाचनमा उम्मेदवार बन्ने कर्मचारीमाथि कानुनबमोजिम कारबाही गरिने चेतावनी दिइएको छ ।

मन्त्रालयका शाखा अधिकृत विवेक विडारीद्वारा जारी सूचनामा निजामती सेवाको तटस्थता, निष्पक्षता र विश्वसनीयता कायम राख्न सबै कर्मचारीलाई जिम्मेवार बन्न आग्रह गरिएको छ ।