१२ वर्षदेखि जेलमा रहेका पूर्वराज्यमन्त्री सञ्जय साहले प्रधानमन्त्री बालेनलाई लेखे पत्र

काठमाडौं, ३० बैशाख । जनकपुर बमकाण्डका मुख्य योजनाकारका रूपमा दोषी ठहर भई विगत १२ वर्षदेखि कारागारमा रहेका पूर्वराज्यमन्त्री सञ्जयकुमार साह ‘टकला’ले प्रधानमन्त्री बालेन्द्र शाह ‘बालेन’लाई पत्र पठाउँदै आफू निर्दोष रहेको दाबी गरेका छन् ।
नख्खु कारागारमा रहेका साहले कारागार प्रशासनमार्फत प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयलाई सम्बोधन गर्दै आफ्नो मुद्दामा निष्पक्ष सुनुवाइको व्यवस्था मिलाइदिन आग्रह गरेका हुन् ।
उनले आफूमाथि लगाइएका भ्रष्टाचार, सम्पत्ति शुद्धीकरण तथा ज्यानसम्बन्धी मुद्दाहरू आधारहीन रहेको दाबी गरेका छन् ।
साहले आफ्नो बुबाको नाममा रहेको र आफू नाबालक अवस्थामा खरिद गरिएको जग्गालाई समेत भ्रष्टाचारबाट आर्जित सम्पत्ति भन्दै मुद्दा चलाइएको उल्लेख गरेका छन् ।
तत्कालीन गाविस कपिलेश्वर तथा लोहनामा रहेको जग्गा अहिले जनकपुरधाम उपमहानगरपालिका–१६ मा पर्ने भन्दै ती सम्पत्ति पैतृक भएको उनको दाबी छ ।
पत्रमा उनले आफ्नो व्यापारिक फर्मको सात वर्षको कारोबारलाई नै अकुत सम्पत्ति मानेर बिगो कायम गरिएको तर उक्त रकम कुनै समय मौज्दात नरहेको बताएका छन् ।
त्यस्तै, ज्यानसम्बन्धी मुद्दामा गरिएको ‘पोलिग्राफ परीक्षण’ले आफू निर्दोष देखाएको दाबी गर्दै सो प्रतिवेदन अदालतले बेवास्ता गरेको आरोप उनले लगाएका छन् ।
पोलिग्राफ रिपोर्टलाई ध्यान नदिई आफूलाई जन्मकैदको फैसला गरिएको भन्दै उनले उक्त मुद्दा लामो समयदेखि सर्वोच्च अदालतमा विचाराधीन रहेको जनाएका छन् ।
साहले आफूविरुद्ध बयान दिने व्यक्तिहरूमाथि पनि पोलिग्राफ परीक्षण गरिनुपर्ने माग गरेका छन् । साथै, तत्कालीन विशेष अदालत र उच्च अदालत जनकपुरका केही न्यायाधीशहरूको नामै उल्लेख गर्दै प्रमाणको उचित मूल्यांकन नगरी फैसला गरेको आरोपसमेत लगाएका छन् ।
विशेष अदालतका न्यायाधीश कृष्ण गिरी, शान्तिसिंह थापा र चन्द्रबहादुर सारु तथा उच्च अदालत जनकपुरका न्यायाधीश प्रमोदकुमार श्रेष्ठ वैद्य र डालकुमार खड्कामाथि उनले पक्षपातपूर्ण निर्णय गरेको आरोप लगाएका छन् ।
साहले चर्चित व्यक्तिलाई दोषी ठहर गर्दा आफू इमानदार देखिने प्रवृत्ति न्यायालयमा देखिएको आरोप लगाउँदै आफ्नो मुद्दा कानुनअनुसार समयमै सुनुवाइ नभएको गुनासो गरेका छन् ।
उनले आफू २०६४ र २०७० सालमा जनकपुरबाट निर्वाचित जनप्रतिनिधि भएको उल्लेख गर्दै राज्य संयन्त्रको दुरुपयोग गरेर आफूमाथि अन्याय गरिएको दाबी गरेका छन् ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


