जनकपुरधाम, ३० बैशाख । जनता समाजवादी पार्टी नेपाल (जसपा नेपाल) र लोकतान्त्रिक समाजवादी पार्टी नेपाल (लोसपा नेपाल) बीच भएको पार्टी एकीकरणलाई निर्वाचन आयोगले आधिकारिक रूपमा प्रमाणिकरण गरेको छ ।

आयोगको प्रमाणिकरणसँगै दुई दलबीचको राजनीतिक एकता औपचारिक रूपमा कार्यान्वयनमा आएको हो ।

एकीकरणपछि नेताहरूले यसलाई मधेश आन्दोलन, समावेशी लोकतन्त्र र उत्पीडित समुदायको अधिकारको पक्षमा महत्वपूर्ण राजनीतिक कदमका रूपमा व्याख्या गरेका छन् ।

पार्टी एकता कार्यदलका सदस्य शैलेन्द्र साहले यो एकताले मधेशको राजनीतिक शक्ति थप सुदृढ हुने विश्वास व्यक्त गरे ।

उनले मधेश, उत्पीडित समुदाय तथा अधिकारको आन्दोलनलाई अझ प्रभावकारी ढंगले अघि बढाउन एकीकरणले सकारात्मक भूमिका खेल्ने बताए ।

साथै उनले एकीकृत जसपा नेपालका नेता, कार्यकर्ता, शुभेच्छुक तथा समर्थकलाई बधाई दिँदै आगामी दिनमा सफलताको शुभकामना व्यक्त गरे ।

दुवै दलबीच लामो समयदेखि चलिरहेको एकता प्रयास निर्वाचन आयोगको प्रमाणिकरणपछि निष्कर्षमा पुगेको हो ।

नेताहरूले अब ‘एकता, संघर्ष र अधिकार’ को नारासहित समृद्धिको यात्रामा थप मजबुत रूपमा अघि बढ्ने प्रतिबद्धता जनाएका छन् ।