जनकपुर साहित्य महोत्सवको सातौं संस्करण जेठ १ देखि, सम्पदा र जनकपुर केन्द्रित बहसको तयारी

जनकपुरधाम, ३० बैशाख । मिथिला कला, साहित्य, संस्कृति र बौद्धिक विमर्शको साझा थलोका रूपमा स्थापित हुँदै गएको ‘जनकपुर साहित्य महोत्सव’को सातौं संस्करण आगामी जेठ १ गतेदेखि जनकपुरधाममा आयोजना हुने भएको छ ।
नव मिथिला फाउण्डेसनको आयोजना तथा फ्याक्ट्स नेपालको प्रायोजनमा हुने महोत्सव जेठ ३ गतेसम्म सञ्चालन हुनेछ ।
महोत्सवको सम्पूर्ण कार्यक्रम महेन्द्र नारायण निधि भवन परिसरमा आयोजना गरिने आयोजकले जनाएको छ ।
तीनदिने महोत्सवमा साहित्यदेखि सुशासन, पर्यटनदेखि खेलकुद, महिला लेखनदेखि सम्पदा संरक्षणसम्मका विविध विषयमा खुला प्यानल छलफल हुनेछन् ।
बुधबार जनकपुरधाममा आयोजित पत्रकार सम्मेलनमार्फत आयोजकले महोत्सवको विस्तृत कार्यक्रम सार्वजनिक गर्दै यसपटकको संस्करणलाई ‘जनकपुर केन्द्रित विमर्श’का रूपमा प्रस्तुत गरिएको जनाएको हो ।
महोत्सवको उद्घाटन जेठ १ गते दिउँसो २ बजे मधेश प्रदेश प्रमुख डा. सुरेन्द्र लाभ कर्णले गर्ने कार्यक्रम तय गरिएको छ । उद्घाटन सत्रपछि विभिन्न विषयमा छलफल र संवाद सुरू हुनेछन् ।
आयोजकका अनुसार यस वर्ष कुल १३ वटा ओपन–एयर प्यानल छलफल आयोजना गरिनेछ ।
‘मैथिली कथाको नेपाली संसार’, ‘जनकपुरको कनेक्टिभिटी र पर्यटनको भविष्य’, ‘किन हुन्छ खेलकुदमा खेलवाड?’, ‘कसरी फर्काउने जनकपुरको शास्त्रार्थ?’, ‘सञ्चारकर्मको बदलिँदो परिदृश्य’, ‘जानकी मन्दिरलाई विश्व सम्पदा सूचीमा सूचीकृत गर्ने सम्भावना’ तथा ‘नेपाली महिला लेखनः संघर्षदेखि सिर्जनासम्म’ लगायतका विषयमा लेखक, पत्रकार, अनुसन्धानकर्ता, नीति निर्माता र विभिन्न क्षेत्रका विज्ञबीच बहस हुने जनाइएको छ ।
महोत्सव निर्देशक राजीवधर जोशीका अनुसार यसपटकको संस्करण अघिल्ला वर्षभन्दा फरक ढंगले तयार गरिएको छ । उनले जनकपुरधामको इतिहास, सम्पदा र सांस्कृतिक पहिचानलाई केन्द्रमा राखेर कार्यक्रमको संरचना बनाइएको बताए ।
‘यसपटक हामीले जनकपुरधामको ऐतिहासिक, सांस्कृतिक र धार्मिक महत्वलाई प्राथमिकतामा राखेका छौँ,’ उनले भने, ‘विशेषगरी जानकी मन्दिर र यहाँका सम्पदाबारे गम्भीर मन्थन हुनेछ ।’
महोत्सवको अर्को आकर्षणका रूपमा प्रभातकालीन सम्पदा पदयात्रालाई लिइएको छ ।
फाउण्डेसनका उपाध्यक्ष आदित्य नेपालका अनुसार जेठ २ गते बिहान आयोजना हुने उक्त पदयात्रामा १२ सयदेखि १५ सयसम्म सहभागी हुने विश्वास गरिएको छ ।
उनका अनुसार सहभागीहरू एउटै प्रकारको पोशाकमा जनकपुरधामका ऐतिहासिक तथा धार्मिक स्थलहरूको अवलोकन गर्दै पदयात्रामा सहभागी हुनेछन् ।
पदयात्रामार्फत सम्पदाको महत्व, संरक्षणको आवश्यकता र सांस्कृतिक पहिचानको सन्देश प्रवाह गर्ने उद्देश्य राखिएको उनले बताए ।
पछिल्ला वर्षहरूमा जनकपुर साहित्य महोत्सवले मिथिलाको साहित्य, भाषा, संस्कृति र बौद्धिक बहसलाई राष्ट्रिय स्तरमा जोड्ने मञ्चको रूपमा पहिचान बनाउँदै आएको छ ।
विशेषगरी मैथिली भाषा, मधेशको समाज, धार्मिक पर्यटन, महिला सवाल र सांस्कृतिक बहसलाई मुख्यधारमा ल्याउन महोत्सवले भूमिका खेलेको साहित्यिक वृत्तमा चर्चा हुने गरेको छ ।
यसपटक पनि महोत्सवमा देशका विभिन्न क्षेत्रबाट साहित्यकार, पत्रकार, कलाकार, शिक्षाविद्, सामाजिक अभियन्ता तथा विद्यार्थीहरूको सहभागिता रहने आयोजकको विश्वास छ ।
खुला वातावरणमा हुने छलफल, सांस्कृतिक प्रस्तुतिहरू र सम्पदामाथिको विमर्शले जनकपुरधामलाई केही दिन साहित्यिक तथा सांस्कृतिक केन्द्रका रूपमा रूपान्तरण गर्ने विश्वास आयोजकले व्यक्त गरेको छ ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


