भारतीय अपराधीमार्फत हत्या गराएको आरोपमा दुई जना पक्राउ

सिरहा, २९ बैशाख । सिरहामा भएका दुई छुट्टाछुट्टै गोलीकाण्डका घटनामा संलग्न रहेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरी सार्वजनिक गरेको छ ।
जिल्ला प्रहरी कार्यालय सिरहाले लामो अनुसन्धानपछि हत्या तथा ज्यान मार्ने उद्योगका योजनाकारहरूलाई पक्राउ गरिएको जनाएको छ ।
प्रहरीका अनुसार सिरहा नगरपालिका–७ स्थित बाँसघारीमा २०८२ माघ १६ गते ४२ वर्षीय प्रेमनाथ यादवको गोली हानी हत्या गरिएको घटनामा मृतककै छिमेकी ५२ वर्षीय उपेन्द्र यादव पक्राउ परेका छन् ।
पूर्वशिक्षकसमेत रहेका उपेन्द्रले पुरानो पारिवारिक रिसइबीका कारण भारतीय अपराधीमार्फत हत्या गराउन सुपारी दिएको प्रहरी अनुसन्धानबाट खुलेको छ ।
प्रहरीले उपेन्द्रले हत्या गराउन ३ लाख रुपैयाँमा ‘डिल’ गरेको, जसअन्तर्गत १ लाख रुपैयाँ अग्रिम रकमसमेत दिएको प्रारम्भिक अनुसन्धानमा देखिएको जनाएको छ ।
घटनापछि प्रहरी निरीक्षकको नेतृत्वमा विशेष अनुसन्धान टोली गठन गरी बीटीएस विश्लेषण, ८० जनाभन्दा बढीको सीडीआर अध्ययन, व्यापक सोधपुछ तथा ६ जनाको पोलिग्राफ परीक्षण गरिएको थियो ।
केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) को प्राविधिक सहयोग तथा भारतीय प्रहरीसँगको समन्वयपछि भारतीय अपराधीको संलग्नता पुष्टि भएको प्रहरीले जनाएको छ ।
पक्राउ परेका उपेन्द्र यादवले घटनामा आफ्नो संलग्नता स्वीकार गरिसकेको प्रहरीको दाबी छ । उनीमाथि कर्तव्य ज्यान मुद्दामा जिल्ला अदालतबाट म्याद थप गरी अनुसन्धान भइरहेको छ ।
यस्तै, औरही गाउँपालिका–५ स्थित जितिया मन्दिरका पुजारी ५५ वर्षीय श्यामसुन्दर शर्मामाथि गोली प्रहार गरिएको घटनामा पनि प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।
२०८२ माघ ४ गते मन्दिरभित्र सुतिरहेको अवस्थामा शर्मामाथि टाउको पछाडिबाट गोली प्रहार गरी गम्भीर घाइते बनाइएको थियो । यस घटनामा स्थानीय ५५ वर्षीय हरि ठाकुर पक्राउ परेका छन् ।
प्रहरीका अनुसार पारिवारिक विवादकै कारण उनले भारतीय ‘सुटर’ लाई ५० हजार रुपैयाँ दिएर पुजारीमाथि गोली प्रहार गराएका थिए ।
जिल्ला प्रहरी कार्यालय सिरहाका प्रवक्ता तथा प्रहरी नायव उपरीक्षक रमेशबहादुर पालले दुवै घटनामा संलग्न अन्य व्यक्तिहरूको खोजी तथा थप अनुसन्धान जारी रहेको जानकारी दिएका छन् ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


