खाने बानी सुधार्न सके मधेशमा कुपोषण घट्छ: मुख्यमन्त्री यादव

जनकपुरधाम, २९ बैशाख । मधेश प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले प्रदेशमा बढ्दो कुपोषण समस्या समाधानका लागि खानपानको शैली र जीवनशैलीमा परिवर्तन आवश्यक रहेको बताएका छन् ।
धनुषाको लालगढमा मंगलबारदेखि सुरु भएको तीनदिने ‘मधेश प्रदेशस्तरीय पोषण नीति संवाद तथा शिखर सम्मेलन–२०८३’ उद्घाटन गर्दै मुख्यमन्त्री यादवले मधेश कृषि उत्पादनमा समृद्ध भए पनि पोषणको दृष्टिले अझै पछाडि रहेको बताए ।
उनले प्रत्येक घरको भान्साघर व्यवस्थित र सन्तुलित बनाउन सके कुपोषणको अवस्थामा उल्लेखनीय सुधार आउन सक्ने उल्लेख गरे ।
‘मधेशमा पोषणयुक्त खाद्यान्नको अभाव छैन । तर, त्यसको सही प्रयोग र खाने बानीको कमीका कारण समस्या बढेको छ,’ उनले भने ।
मुख्यमन्त्री यादवले स्थानीयस्तरमै उपलब्ध पोषणयुक्त खाद्यवस्तुको पहिचान र प्रयोगबारे गृहिणी तथा परिवारका सदस्यलाई प्रशिक्षण दिनुपर्ने आवश्यकता औंल्याए ।
खेतबारीमा उत्पादन हुने तरकारी, दाल, अन्न तथा अन्य खाद्यवस्तुको सही उपयोग नहुँदा कुपोषणको अवस्था गम्भीर बनेको उनको भनाइ थियो ।
कार्यक्रममा मधेश प्रदेशका स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री जङ्गीलाल रायले सम्मेलनबाट कुपोषणका कारण, चुनौती र समाधानका विषयमा ठोस निष्कर्ष निस्कने विश्वास व्यक्त गरे ।
उनले सम्मेलनबाट तयार हुने रणनीति प्रभावकारी रूपमा कार्यान्वयन गरिने बताए ।
मधेश प्रदेश सरकारका स्वास्थ्य सचिव डा. प्रमोदकुमार यादवले सम्मेलनमा विज्ञहरूबीच हुने छलफलबाट प्रदेशको पोषण नीतिलाई थप प्रभावकारी बनाउने विश्वास गरिएको जानकारी दिए ।
पोषण सम्पर्क अधिकृत विनोद यादवका अनुसार मधेशमा पुड्कोपन, ख्याउटेपन र रक्तअल्पता जस्ता समस्या अन्य प्रदेशको तुलनामा बढी देखिएकाले त्यसलाई न्यूनीकरण गर्ने उद्देश्यले सम्मेलन आयोजना गरिएको हो ।
सम्मेलनमा प्रदेशभरका स्वास्थ्य कार्यालय प्रमुख, प्रादेशिक अस्पतालका प्रतिनिधि, पोषणविद् तथा आठवटै जिल्लाका पोषण अधिकृतहरूको सहभागिता रहेको छ ।
सम्मेलनबाट प्राप्त सुझावका आधारमा मधेश प्रदेशको आगामी पोषण रणनीति तय गरिने स्वास्थ्य निर्देशनालयले जनाएको छ ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


