जनकपुरधाम, २९ बैशाख । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले धनुषास्थित सशस्त्र प्रहरी बल नेपाल सुरक्षा बेसमा कार्यरत सशस्त्र प्रहरी निरीक्षक वकिल अधिकारीविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

अख्तियारले मंगलबार विशेष अदालतमा दायर गरेको अभियोगपत्र अनुसार अधिकारीले कमला–ढल्केबर–बागमती सडक निर्माण खण्डमा माटो तथा ग्राभेल फिलिङ कार्यमा प्रयोग भइरहेका सवारीसाधन रोक्ने र फिल्डमा माटो झार्न नदिने भन्दै सेवाग्राहीसँग घुस मागेका थिए ।

आयोगका अनुसार उनले ४० हजार रुपैयाँ घुस लिइरहेको अवस्थामा पक्राउ परेका थिए । सो घटनापछि अनुसन्धान पूरा गरी अख्तियारले बिगोबमोजिम सजायको माग गर्दै विशेष अदालतमा मुद्दा दायर गरेको जनाएको छ ।

अख्तियारका प्रवक्ता सुरेश न्यौपानेले सार्वजनिक गरेको विज्ञप्तिमा घुस लेनदेनसम्बन्धी प्रमाण फेला परेकाले भ्रष्टाचार निवारण ऐनअन्तर्गत कारबाही माग गरिएको उल्लेख गरिएको छ ।

यसैबीच, घुससम्बन्धी अर्को मुद्दामा सरकारी साक्षीका रूपमा अदालतमा बयान दिँदा प्रतिकूल हुनेगरी बयान दिएको आरोपमा सुमित्राकुमारी पुडासैनीविरुद्ध पनि विशेष अदालतमा मुद्दा दायर गरिएको अख्तियारले जनाएको छ ।

आयोगले पुडासैनीविरुद्ध ५० लाख रुपैयाँ बराबरको बिगो दाबी गर्दै कानुनी कारबाही अघि बढाएको जनाएको छ ।