जनकपुरधाम, २९ बैशाख । मधेश प्रदेशमा अपाङ्गता भएका व्यक्तिहरूको आर्थिक तथा सामाजिक अवस्था सुधार गर्ने उद्देश्यसहित ‘आशा’ समावेशी जीविकोपार्जन तथा आर्थिक सशक्तीकरण परियोजना सुरु गरिएको छ ।

सिविएम ग्लोबल फण्ड र अष्ट्रेलियन एडको आर्थिक सहयोगमा लाईफ नेपालद्वारा सञ्चालन गरिएको उक्त परियोजनाको मंगलबार जनकपुरधाममा मधेश प्रदेशका सभामुख रामअशिष यादवले उद्घाटन गरेका हुन् ।

कार्यक्रमलाई सम्बोधन गर्दै सभामुख यादवले अपाङ्गता भएका व्यक्तिहरूको जीवनस्तर सुधारका लागि तीनै तहका सरकारबीच समन्वय र सहकार्य आवश्यक रहेको बताए ।

उनले राज्यले गर्नुपर्ने काममा अन्तर्राष्ट्रिय संस्थाहरूले समेत सहयोग पुर्‍याउनु सकारात्मक पक्ष भएको उल्लेख गर्दै परियोजनालाई प्रभावकारी बनाउन स्थानीय तहहरूको सक्रिय भूमिका आवश्यक रहेको धारणा राखे ।

उनले सामाजिक तथा आर्थिक रूपमा पछाडि परेका समुदायलाई लक्षित गरी ल्याइएको ‘आशा’ परियोजनाले अपाङ्गता भएका व्यक्तिहरूको आत्मनिर्भरता र सम्मानजनक जीवनयापनमा टेवा पुर्‍याउने विश्वास व्यक्त गरे ।

कार्यक्रममा धनुषाको लक्ष्मीनिया गाउँपालिकाका अध्यक्ष भोगेन्द्र मिश्रले अपाङ्गता भएका व्यक्तिको गरिबी न्यूनीकरण र जीविकोपार्जन सुधार राष्ट्रिय चुनौतीका रूपमा रहेको उल्लेख गर्दै परियोजनाको सफल कार्यान्वयनमा संघ, प्रदेश र स्थानीय सरकारको साझा दायित्व रहने बताए ।

सिविएम ग्लोबल फण्डका कन्ट्री डाइरेक्टर राजन भट्टराईले परियोजनामार्फत अपाङ्गता भएका व्यक्तिको सामाजिक सहभागिता र आर्थिक अवस्था सुधार हुने विश्वास व्यक्त गरे ।

लाईफ नेपालका अध्यक्ष सुरैत ठाकुरको अध्यक्षतामा सम्पन्न कार्यक्रममा परियोजनाका कार्यक्रम संयोजक पूजा शर्माले परियोजनाको उद्देश्य र कार्ययोजनाबारे जानकारी गराएकी थिइन् ।

चार वर्षसम्म सञ्चालन हुने परियोजना धनुषाका मिथिला नगरपालिका, क्षिरेश्वरनाथ नगरपालिका, हंसपुर नगरपालिका तथा लक्ष्मीनिया गाउँपालिका का ३८ वडामा कार्यान्वयन गरिने जनाइएको छ ।

परियोजनाबाट प्रत्यक्ष रूपमा करिब ३ हजार र अप्रत्यक्ष रूपमा १० हजारभन्दा बढी व्यक्ति लाभान्वित हुने बताइएको छ ।

परियोजनाले सामाजिक तथा स्वास्थ्य सुरक्षा, समावेशी सुशासन, जलवायु उत्थानशील कृषि, आर्थिक सशक्तीकरण र संस्थागत विकासका क्षेत्रमा काम गर्ने जनाएको छ ।