जनकपुरधाम, २९ बैशाख । नेपाली कांग्रेसका नेता विमलेन्द्र निधिले पार्टीभित्र देखिएको विवाद अन्त्य गर्दै अब १५औँ महाधिवेशनको तयारीमा केन्द्रित हुनुपर्ने बताएका छन् ।

मंगलबार जनकपुरधाममा आयोजित पत्रकार सम्मेलनमा उनले विशेष महाधिवेशनलाई आफूहरूले मान्यता नदिने स्पष्ट पार्दै पार्टीभित्र साझा एकताको वातावरण निर्माण गर्न १४औँ महाधिवेशन पक्षधर र विशेष महाधिवेशन पक्षधर दुवै कार्यसमितिलाई संयुक्त रूपमा अघि बढाउनुपर्ने बताए ।

उनले संयुक्त कार्यसमितिमार्फत १५औँ महाधिवेशनको तयारी, कार्यतालिका निर्माण तथा आवश्यक निर्णयहरू गर्नुपर्ने धारणा राखे ।

निधिले पार्टी कार्यालयका लागि छुट्टै भवन खोज्ने कामसमेत भइरहेको जानकारी दिए ।

विशेष महाधिवेशनप्रति असन्तुष्टि जनाउँदै उनले देशभरका करिब ४६ प्रतिशत महाधिवेशन प्रतिनिधि प्रक्रियाबाट बाहिर रहेको दाबी गरे ।

उनका अनुसार विशेष महाधिवेशनमा करिब ५५–५६ प्रतिशत प्रतिनिधिमात्र सहभागी भएका थिए ।

निधिले पार्टीभित्र सहमति निर्माणका लागि हालसम्म प्रभावकारी प्रयास नभएको आरोप लगाए ।

उनले नेताहरू पूर्ण बहादुर खड्का, शेखर कोइराला, गगन थापा र विश्वप्रकाश शर्माबीच शिष्टाचार भेट भए पनि ठोस प्रस्ताव नआएको बताए ।

‘हामी धेरै दिन पर्खिन सक्ने अवस्थामा छैनौँ,’ उनले भने ।

पार्टी सदस्यता नवीकरणबारे बोल्दै निधिले १५औँ महाधिवेशनका लागि आवश्यक सदस्यता नवीकरण प्रक्रिया यसअघि नै सम्पन्न भइसकेकाले पुनः नवीकरण आवश्यक नरहेको बताए ।

उनले त्यसबेला नवीकरण व्यवस्थापनको जिम्मेवारी महामन्त्री गगन थापालाई दिइएको स्मरण गराए ।

यद्यपि, उनले सबै कार्यकर्तालाई सदस्यता नवीकरण प्रक्रियामा सहभागी हुन आग्रह गर्दै निजी स्वार्थका आधारमा सदस्यता नवीकरण भइरहेको आरोपसमेत लगाए ।

पूर्वउपसभापति निधिले पार्टीभित्र छलफल र समन्वय बढाउन सातै प्रदेशमा नेताहरूसँग भेटघाट तथा परामर्श अभियान सुरु गरिएको जानकारी दिए ।

उनका अनुसार मधेश प्रदेशको जिम्मेवारी आनन्द ढुंगानालाई दिइएको छ भने कोशी र बागमती प्रदेशमा समेत भेला तथा छलफल कार्यक्रम सञ्चालन भइरहेको छ ।