जनकपुरधाम, २८ बैशाख । यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई)मा मधेश प्रदेशका ३१ हजार ७२५ विद्यार्थी अवर्गीकृत (नन् ग्रेडेड) भएका छन् ।

राष्ट्रिय परीक्षा बोर्डले सोमबार सार्वजनिक गरेको नतिजाअनुसार मधेशबाट परीक्षामा सहभागी ७६ हजार ३१७ विद्यार्थिमध्ये ठूलो संख्या न्यूनतम ग्रेड प्राप्त गर्न असफल भएका हुन् ।

प्रदेशगत तथ्यांक अनुसार मधेशमा ४४ हजार ५९२ विद्यार्थी मात्रै वर्गीकृत भएका छन् । अवर्गीकृत हुने विद्यार्थीको संख्या अन्य प्रदेशको तुलनामा पनि उच्च देखिएको छ ।

बोर्डका अनुसार कोशी प्रदेशमा २१ हजार ३६६, बागमतीमा २१ हजार ७०४, गण्डकीमा ९ हजार ९४३, लुम्बिनीमा २७ हजार ८९३, कर्णालीमा १३ हजार २४१ तथा सुदूरपश्चिममा २० हजार ६३५ विद्यार्थी अवर्गीकृत भएका छन् ।

यस वर्ष नियमिततर्फ देशभरबाट ४ लाख ३० हजार ६६७ विद्यार्थी एसईई परीक्षामा सहभागी भएका थिए । तीमध्ये १ लाख ४६ हजार ५०७ विद्यार्थी नन् ग्रेडेड भएका परीक्षा बोर्डले जनाएको छ ।

बोर्डले अवर्गीकृत विद्यार्थीका लागि पुरक परीक्षा आगामी असार १ गतेदेखि ९ गतेसम्म सञ्चालन गर्ने तयारी गरेको जनाएको छ ।

प्रदेशगत रूपमा वर्गीकृत विद्यार्थी संख्या हेर्दा बागमती प्रदेश अग्रस्थानमा रहेको छ ।

बागमतीमा ७७ हजार ११३ विद्यार्थी वर्गीकृत हुँदा कोशीमा ५० हजार ८९०, लुम्बिनीमा ४४ हजार २५६, मधेशमा ४४ हजार ५९२, गण्डकीमा २६ हजार ५५०, कर्णालीमा १९ हजार ९५ र सुदूरपश्चिममा २१ हजार ६६४ विद्यार्थी वर्गीकृत भएका छन् ।

यसपटकको नतिजाले विशेषगरी मधेश प्रदेशमा विद्यालय शिक्षा र सिकाइको गुणस्तरमाथि पुनः प्रश्न उठाएको शिक्षा क्षेत्रका जानकारहरूको भनाइ छ ।