जनकपुरधाम, २८ बैशाख । मधेश प्रदेशमा एचआइभी संक्रमणको अवस्था फेरि चिन्ताजनक बन्दै गएको देखिएको छ ।

पछिल्ला वर्षहरूमा संक्रमण नियन्त्रणका लागि विभिन्न कार्यक्रम सञ्चालन भइरहे पनि नयाँ संक्रमितको दर घट्न नसक्दा स्वास्थ्य क्षेत्रका सरोकारवालाहरूले गम्भीर चासो व्यक्त गरेका छन् ।

स्वास्थ्य निर्देशनालय मधेशले सार्वजनिक गरेको पछिल्लो तथ्यांकले चालु आर्थिक वर्षमा एचआइभी परीक्षणको दायरा अघिल्लो वर्षको तुलनामा घटे पनि पोजिटिभ देखिने दर भने यथावत् रहेको देखाएको छ ।

यसले समुदायस्तरमा संक्रमण अझै फैलिरहेको हुन सक्ने र वास्तविक संक्रमितको संख्या रिपोर्टभन्दा बढी हुन सक्ने स्वास्थ्यकर्मीहरूको भनाइ छ ।

स्वास्थ्य निर्देशनालय मधेशका सूचना अधिकारी राजवीर यादवका अनुसार गत आर्थिक वर्षमा ठूलो संख्यामा परीक्षण गरिएको थियो र त्यतिबेला एचआइभी पोजिटिभ दर ०.६ प्रतिशत रहेको थियो । तर, चालु आर्थिक वर्षमा परीक्षण संख्या घटे पनि पोजिटिभ दर फेरि पनि ०.६ प्रतिशत नै कायम रहनु गम्भीर संकेत भएको उनले बताए ।

‘परीक्षण घट्दा पनि पोजिटिभ दर उही स्तरमा रहनु भनेको संक्रमण समुदायमा स्थिर मात्र नभई फैलिन सक्ने अवस्थाको संकेत हो,’ यादवले भने ।

उनका अनुसार राष्ट्रिय औसतसँग तुलना गर्दा मधेश प्रदेशको अवस्था अझ बढी चिन्ताजनक देखिन्छ । देशभर एचआइभी संक्रमणको औसत पोजिटिभ दर ०.५ प्रतिशत रहेको अवस्थामा मधेशमा त्योभन्दा उच्च दर देखिनु थप गम्भीर विषय भएको उनको भनाइ छ ।

निर्देशनालयले उपलब्ध गराएको विवरणअनुसार मधेश प्रदेशका जिल्लामध्ये सबैभन्दा बढी एचआइभी संक्रमित पर्सा जिल्लामा रहेका छन् । पर्सामा हाल १ हजार ५ सय ४ जना संक्रमित रहेको तथ्यांकमा उल्लेख छ ।

त्यसैगरी धनुषामा ८ सय ८६ जना, रौतहटमा ५ सय ४० जना, सर्लाहीमा ५ सय ८ जना, सिरहामा ४ सय ५७ जना, महोत्तरीमा ३ सय ७१ जना तथा बारामा २ सय २२ जना एचआइभी संक्रमित रहेको जनाइएको छ ।

स्वास्थ्यकर्मीहरूका अनुसार यी तथ्यांकले प्रदेशमा संक्रमणको वितरण समान नभएर केही जिल्लामा बढी केन्द्रित रहेको देखाउँछ । यसले लक्षित कार्यक्रम आवश्यक भएको संकेत गर्छ ।

विशेषज्ञहरूका अनुसार मधेश प्रदेशमा एचआइभी नियन्त्रण कठिन हुनुका पछाडि धेरै सामाजिक र भौगोलिक कारणहरू जिम्मेवार छन् ।

भारतसँगको खुला सीमा, वैदेशिक रोजगारीका क्रममा असुरक्षित व्यवहार, सुरक्षित यौन अभ्यासबारे पर्याप्त चेतनाको अभाव तथा सामाजिक लाज र डरका कारण परीक्षण गर्न नचाहने प्रवृत्ति प्रमुख समस्या रहेका छन् ।

त्यस्तै, संक्रमित व्यक्तिहरूप्रति हुने सामाजिक विभेद र गलत धारणाका कारण धेरैले आफ्नो अवस्था लुकाउने र नियमित उपचारमा नजाने समस्या पनि देखिएको स्वास्थ्यकर्मीहरूको भनाइ छ ।

‘लाज र डरका कारण धेरै मानिसहरू परीक्षणमै आउँदैनन् । जसका कारण संक्रमणको वास्तविक अवस्था अझै ठूलो हुन सक्छ,’ एक स्वास्थ्यकर्मीले बताए ।

यसैबीच, एड्स हेल्थकेयर फाउन्डेसन (एएचएफ) नेपालले मधेश प्रदेशसहित देशका विभिन्न क्षेत्रमा एचआइभी संक्रमित समुदायसँग निरन्तर काम गर्दै आएको जनाएको छ ।

एएचएफ नेपालका कार्यक्रम संयोजक बिमल कुमार साहका अनुसार संस्थाले सन् २००९ देखि विभिन्न सरकारी अस्पतालहरूसँग सहकार्य गर्दै परीक्षण, उपचार, परामर्श तथा जनचेतनामूलक कार्यक्रम सञ्चालन गर्दै आएको छ ।

उनका अनुसार हाल प्रादेशिक अस्पताल जनकपुर र नारायणी अस्पतालसहित देशभरका १९ अस्पतालमार्फत एचआइभी सम्बन्धी सेवा उपलब्ध गराइँदै आएको छ ।

संक्रमितहरूलाई नियमित औषधि सेवन, मानसिक परामर्श, सामाजिक सहयोग तथा समुदायस्तरमा जनचेतना अभिवृद्धिका कार्यक्रमहरू निरन्तर सञ्चालन भइरहेको उनले जानकारी दिए ।

स्वास्थ्य क्षेत्रका सरोकारवालाहरूले एचआइभी नियन्त्रणका लागि परीक्षणको दायरा विस्तार गर्न, समुदायस्तरमा सचेतना अभिवृद्धि गर्न र उपचार सेवामा पहुँच सहज बनाउनुपर्ने आवश्यकता औंल्याएका छन् ।

उनीहरूका अनुसार यदि परीक्षण घट्दै जाने र लुकेर बस्ने प्रवृत्ति बढ्दै जाने हो भने संक्रमणको वास्तविक अवस्था अझ गम्भीर हुन सक्ने खतरा रहन्छ ।