जनकपुरधाममा अथरको नयाँ एक्सपिरियन्स सेन्टर सञ्चालन

जनकपुरधाम, २८ बैशाख । नेपालमा विद्युतीय सवारी साधनको प्रयोग तीव्र रूपमा विस्तार भइरहेका बेला प्रिमियम इलेक्ट्रिक स्कुटर ब्रान्ड Ather Energy ले जनकपुरधाममा आफ्नो नयाँ एक्सपिरियन्स सेन्टर सञ्चालनमा ल्याएको छ ।
मधेश प्रदेशमा विद्युतीय दुईपांग्रे सवारीप्रति बढ्दो आकर्षणलाई लक्षित गर्दै कम्पनीले जनकपुरधामको मिल्स एरियामा नयाँ शाखा विस्तार गरेको हो ।
नेपालका लागि अथर इनर्जीको आधिकारिक वितरक Vaidya Energy Pvt. Ltd. ले सोमबार आयोजित कार्यक्रमबीच नयाँ सेन्टर उद्घाटन गरेको जनाएको छ ।
नितिन ट्रेड लिंकको व्यवस्थापनमा सञ्चालनमा आएको उक्त सेन्टरमार्फत जनकपुरधाम तथा आसपासका जिल्लाका ग्राहकलाई अत्याधुनिक विद्युतीय स्कुटरको बिक्री तथा सेवा सुविधा उपलब्ध गराइने बताइएको छ ।
अथर इनर्जीले नेपालमा आफ्नो उपस्थिति निरन्तर विस्तार गरिरहेको अवस्थामा जनकपुरधाम शाखा कम्पनीको दशौँ एक्सपिरियन्स सेन्टर बनेको छ ।
यसअघि काठमाडौँ उपत्यकाभित्र पाँच शाखा सञ्चालनमा रहेका छन् भने पोखरा, चितवन, इटहरी र बुटवलपछि अब मधेश प्रदेशको प्रमुख व्यापारिक तथा सांस्कृतिक शहर जनकपुरधाममा पनि कम्पनीले सेवा विस्तार गरेको हो ।
जनकपुरधामका आधिकारिक वितरक संजु नायकका अनुसार सेन्टर सञ्चालनमा आउनुअघि नै अथरका करिब २० वटा स्कुटर बिक्री भइसकेका छन् ।
यसले मधेश प्रदेशमा विद्युतीय सवारी साधनप्रति उपभोक्ताको चासो बढ्दै गएको उनले बताए ।
उनका अनुसार अथरले नेपालकै दुईपांग्रे ईभी क्षेत्रमा सबैभन्दा लामो आठ वर्षसम्मको विस्तारित ब्याट्री वारेन्टी सुविधा उपलब्ध गराउँदै आएको छ ।
लामो ब्याट्री वारेन्टी, स्मार्ट प्रविधि र कम सञ्चालन खर्चका कारण युवापुस्तासँगै परिवारमुखी ग्राहकसमेत विद्युतीय स्कुटरतर्फ आकर्षित भइरहेको उनले बताए ।
नयाँ सेन्टरमा कम्पनीको लोकप्रिय ‘अथर ४५० सिरिज’ तथा परिवार लक्षित ‘अथर रिज्टा’ स्कुटर प्रदर्शनमा राखिएको छ ।
कम्पनीका अनुसार अथर ४५० सिरिज उच्च परफर्मेन्स, स्मार्ट टेक्नोलोजी र आधुनिक राइडिङ अनुभवलाई ध्यानमा राखेर डिजाइन गरिएको स्कुटर हो ।
यसमा गुगल म्याप्समा आधारित नेभिगेसन प्रणाली, अटो होल्ड सुविधा, रिभर्स मोड, विभिन्न राइड मोड, टचस्क्रिन ड्यासबोर्डलगायतका अत्याधुनिक सुविधा उपलब्ध छन् ।
त्यसैगरी, परिवार लक्षित ‘अथर रिज्टा’ मा आरामदायी सिट, पर्याप्त स्टोरेज क्षमता तथा सुरक्षित र सहज यात्रालाई प्राथमिकता दिइएको कम्पनीले जनाएको छ ।
दैनिक प्रयोगका लागि उपयुक्त मानिएको उक्त मोडलले नेपाली बजारमा सकारात्मक प्रतिक्रिया पाइरहेको कम्पनीको दाबी छ ।
कम्पनीका प्रतिनिधिहरूका अनुसार नयाँ एक्सपिरियन्स सेन्टर बिक्री केन्द्र मात्र नभई ग्राहकलाई विद्युतीय सवारीबारे प्रत्यक्ष अनुभव गराउने उद्देश्यले डिजाइन गरिएको हो ।
यहाँ ग्राहकहरूले स्कुटरको लाइभ डिस्प्ले, प्रोडक्ट डेमोन्स्ट्रेसन तथा टेस्ट राइड गर्न सक्नेछन् । साथै, स्मार्ट फिचर, कनेक्टेड टेक्नोलोजी, फाइनान्सिङ तथा एक्सचेञ्ज सुविधा, ईभी ओनरसिप र चार्जिङ पूर्वाधारसम्बन्धी परामर्शसमेत उपलब्ध गराइने जनाइएको छ ।
नेपालमा पछिल्लो समय पेट्रोलियम पदार्थको बढ्दो मूल्य, वातावरणीय सचेतना तथा सरकारी प्रोत्साहनका कारण विद्युतीय सवारी साधनको प्रयोग उल्लेखनीय रूपमा बढ्दै गएको छ ।
विशेषगरी दुईपांग्रे विद्युतीय सवारी शहरी क्षेत्रका युवापुस्ता र मध्यमवर्गीय परिवारबीच लोकप्रिय बन्दै गइरहेका छन् ।
मधेश प्रदेशमा समेत ईभी पूर्वाधार विस्तार हुँदै गएको अवस्थामा अथरको नयाँ शाखा सञ्चालनले जनकपुरधाममा विद्युतीय मोबिलिटीको प्रयोग थप बढ्ने विश्वास गरिएको छ ।
कम्पनीले आगामी दिनमा बिक्रीसँगै चार्जिङ तथा सेवा सञ्जाललाई समेत विस्तार गर्दै लैजाने योजना रहेको जनाएको छ ।









