जनकपुरधाम, २८ बैशाख । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल विद्युत प्राधिकरण कञ्चनपुर वितरण केन्द्र सप्तरीका प्रमुख महेन्द्र कुमार दासविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

चार्जिङ स्टेसन सञ्चालनका लागि ट्रान्सफर्मर जडान गरी विद्युत लाइन सुचारु गरिदिने नाममा सेवाग्राहीसँग १ लाख ४० हजार रुपैयाँ घुस लिएको आरोपमा आयोगले सोमबार आरोपपत्र दायर गरेको हो ।

अख्तियारका अनुसार चार्जिङ स्टेसन सञ्चालनका लागि आवश्यक प्रक्रिया पूरा भइसकेपछि पनि दासले लाइन छाडिदिन सेवाग्राहीसँग रकम माग गर्दै आएका थिए ।

सेवाग्राहीबाट घुस माग भइरहेको सूचनाका आधारमा अख्तियारको इटहरी कार्यालयबाट खटिएको टोलीले उनलाई नियन्त्रणमा लिएको जनाएको छ ।

आयोगले जारी गरेको विज्ञप्तिअनुसार दास सेवाग्राहीबाट १ लाख ४० हजार रुपैयाँ घुस लिइसकेको अवस्थामा उक्त रकमसहित रङ्गेहात पक्राउ परेका थिए ।

अनुसन्धानका क्रममा उनले रकमका लागि बार्गेनिङ गर्नुका साथै घुस नदिए लाइन काटिदिने धम्कीसमेत दिएको खुलेको आयोगले जनाएको छ ।

अख्तियारका प्रवक्ता सुरेश न्यौपानेका अनुसार दासविरुद्ध भ्रष्टाचार निवारण ऐन, २०५९ अन्तर्गत १ लाख ४० हजार रुपैयाँ बिगो कायम गरी कैद तथा जरिवानाको मागदाबी गर्दै विशेष अदालतमा मुद्दा दायर गरिएको हो ।