जनकपुरधाम, २८ बैशाख । जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर-७ मा विभिन्न स्थानका चेम्बर नाला, वरुणयन्त्र आसपासका क्षेत्र तथा सार्वजनिक स्थलहरूमा सरसफाइ अभियान सञ्चालन गरिएको छ ।

वडा कार्यालयको समन्वयमा नगरपालिकाको सरसफाइ टोली र वरुणयन्त्रका कर्मचारीहरूको सहभागितामा सोमबार बिहानदेखि सरसफाइ गरिएको हो ।

अभियान अन्तर्गत नालामा जमेको फोहोर, प्लास्टिकजन्य वस्तु तथा ढल अवरोध हटाइएको वडा कार्यालयले जनाएको छ ।

वडा अध्यक्ष निरज कुमार साह ‘मुन्ना’ले वर्षायाम नजिकिँदै गएको अवस्थामा नाला तथा ढल व्यवस्थापनलाई प्राथमिकतामा राखेर सरसफाइ अभियानलाई तीव्र बनाइएको बताए ।

उनले सरसफाइ सरकारी निकायको जिम्मेवारी मात्र नभई सबै नागरिकको साझा दायित्व भएको उल्लेख गरे ।

‘वडालाई सफा, व्यवस्थित र स्वास्थ्यकर बनाउन नियमित रूपमा सरसफाइ अभियान सञ्चालन गरिरहेका छौँ,’ वडा अध्यक्ष साहले भने, ‘स्थानीयवासीले पनि जथाभावी फोहोर फाल्ने प्रवृत्ति त्यागेर वातावरण संरक्षणमा सहयोग गर्नुपर्छ ।’

वडाध्यक्ष साहका अनुसार आगामी दिनमा पनि वडा नम्बर-७ का विभिन्न टोल तथा सार्वजनिक क्षेत्रमा नियमित सरसफाइ, नाला सफाइ र जनचेतनामूलक कार्यक्रम सञ्चालन गरिनेछ ।

स्थानीयवासीहरूले लामो समयदेखि अवरुद्ध बनेका केही नालाहरू सफा भएपछि पानी निकास सहज हुने विश्वास गरेका छन् ।