जनकपुरधाम, २८ बैशाख । सिरहामा गत माघ महिनामा भएको हत्या प्रकरणमा प्रहरीले एक जना पूर्व शिक्षकलाई पक्राउ गरेको छ ।

हत्या घटनाको करिब तीन महिनापछि प्रहरीले अनुसन्धानबाट मुख्य योजनाकारसम्म पुग्न सफल भएको जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय सिरहाका अनुसार माघ १६ गते दिउँसो सिरहा नगरपालिका–७ स्थित बाँसघारी क्षेत्रमा ४२ वर्षीय प्रेमनाथ यादवमाथि अज्ञात समूहले गोली प्रहार गरी हत्या गरेको थियो ।

घटनापछि फरार रहेका सिरहा नगरपालिका–१ निवासी ५२ वर्षीय उपेन्द्र यादवलाई प्रहरीले पक्राउ गरेको हो ।

प्रहरीका प्रवक्ता प्रहरी नायव उपरीक्षक रमेशबहादुर पालका अनुसार मृतक परिवारसँग उपेन्द्र यादवको विगत चार वर्षदेखि पारिवारिक विवाद र मनमुटाव चल्दै आएको थियो ।

सोही रिसिइबीका कारण उनले भारतीय अपराधीहरूको सहयोग लिएर हत्या गराएको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार हत्या गराउन करिब तीन लाख रुपैयाँको सुपारी डिल भएको थियो । जसअन्तर्गत एक लाख रुपैयाँ अग्रिम रकमसमेत दिइएको र बाँकी दुई लाख रुपैयाँ दिन बाँकी रहेको खुलेको छ ।

घटनाको अनुसन्धानका क्रममा प्रहरीले बीटीएस विश्लेषण, करिब ८० जनाको कल डिटेल रेकर्ड (सीडीआर) अध्ययन, सोधपुछ, घटनास्थलको प्राविधिक परीक्षण तथा शंकास्पद व्यक्तिहरूको पोलिग्राफ परीक्षणसमेत गरेको जनाएको छ ।

केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी), प्रदेश प्रहरी कार्यालय वीरगञ्ज तथा मधेश प्रदेश प्रहरी कार्यालय जनकपुरधामको समन्वयमा बहुआयामिक अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ ।

अनुसन्धानका क्रममा भारतीय अपराधीहरूको संलग्नता देखिएपछि प्रहरीले शंकास्पद मोबाइल नम्बरहरूको सूक्ष्म विश्लेषण गरी एक भारतीय नागरिकसहित तीन जनालाई नियन्त्रणमा लिएको जनाएको छ ।

पक्राउ परेका उपेन्द्र यादवले घटनामा आफ्नो संलग्नता स्वीकार गरिसकेको र अन्य भारतीय सुटरहरूको पहिचान भइसकेकाले खोजी कार्य जारी रहेको प्रहरीले जनाएको छ ।

यता, सिरहाकै औरही गाउँपालिका–५ स्थित जितिया मन्दिरमा पुजारीमाथि भएको गोली प्रहार घटनामा पनि प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।

गत माघ ४ गते राति मन्दिरभित्रै स्थानीय ५५ वर्षीय पुजारी श्यामसुन्दर शर्मामाथि गोली प्रहार गरी गम्भीर घाइते बनाइएको थियो । उक्त घटनामा औरही–५ निवासी ५५ वर्षीय हरि ठाकुर पक्राउ परेका छन् ।

प्रहरीका अनुसार पारिवारिक रिसिइबीका कारण ठाकुरले भारतीय सुटरलाई ५० हजार रुपैयाँ दिएर पुजारीमाथि ज्यान मार्ने उद्देश्यले गोली चलाउन लगाएको खुलेको छ ।