जनकपुरधाम, २८ बैशाख । जनकपुरधाम उपमहानगरपालिका लगायत धनुषा जिल्लाभर विभिन्न सरोकारवाला निकायबाट बजार अनुगमन तीव्र बनाइएपछि जनकपुरधाम उद्योग वाणिज्य संघले उद्योगी तथा व्यवसायीलाई कानुनअनुसार कारोबार गर्न आग्रह गरेको छ ।

संघले सोमबार सूचना जारी गर्दै मूल्य सूची अनिवार्य रूपमा ग्राहकले देख्ने स्थानमा राख्न, नियमित रूपमा बिल बिजक जारी गर्न तथा व्यवसाय दर्ता प्रमाणपत्र र स्थायी लेखा नम्बर (प्यान) कारोबार स्थलमै राख्न व्यवसायीलाई अनुरोध गरेको हो ।

संघका महासचिव कुलदेव पण्डितद्वारा जारी सूचनामा उत्पादन मिति, प्रयोग मिति तथा उपभोक्ता मूल्य उल्लेख नभएका सामानको बिक्री वितरण नगर्न पनि आग्रह गरिएको छ ।

यस्तै, सडेगलेका तथा म्याद गुज्रिएका वस्तुको कारोबार नगर्न, सही नापतौल भएका ढक तथा इलेक्ट्रोनिक तराजु मात्र प्रयोग गर्न र प्रतिबन्धित वस्तुको कारोबार नगर्न चेतावनी दिइएको छ ।

सूचनामा अन्तःशुल्क दर्ताविना सूर्तिजन्य पदार्थ बिक्री नगर्न, करपाटी देखिने गरी राख्न तथा कृत्रिम अभाव सिर्जना र कालोबजारी नगर्न समेत व्यवसायीलाई आग्रह गरिएको छ ।

होटल तथा पर्यटन व्यवसायीलाई पनि विशेष सतर्कता अपनाउन संघले अनुरोध गरेको छ ।

होटल तथा रेष्टुरेन्ट सफा र स्वच्छ राख्न, बासी तथा अखाद्य वस्तुको प्रयोग नगर्न, खानेकुरा छोपेर राख्न तथा कामदारको नियमित स्वास्थ्य परीक्षण गर्न भनिएको छ ।

साथै कामदारलाई अनिवार्य पोशाकको व्यवस्था गर्न र सरसफाइमा विशेष ध्यान दिन आग्रह गरिएको सूचनामा उल्लेख छ ।

संघले बजार अनुगमनलाई सहयोग गर्दै उपभोक्तामैत्री तथा कानुनसम्मत व्यवसाय सञ्चालन गर्न सम्पूर्ण व्यवसायीसँग अपिल गरेको छ ।