मधेश प्रदेशसभाको सातौं अधिवेशन जेठ १ गतेदेखि

जनकपुरधाम, २८ बैशाख । मधेश प्रदेशसभाको सातौं अधिवेशन आगामी जेठ १ गते शुक्रबारदेखि सुरु हुने भएको छ ।
प्रदेश प्रमुख कार्यालयले सोमबार विज्ञप्ति जारी गर्दै प्रदेशसभाको अधिवेशन आह्वान गरिएको जानकारी दिएको हो ।
मधेश प्रदेश सरकार मन्त्रिपरिषद्को सिफारिसअनुसार नेपालको संविधानको धारा १८३ को उपधारा (१) बमोजिम प्रदेश प्रमुखले अधिवेशन आह्वान गरेको विज्ञप्तिमा उल्लेख छ ।
प्रदेश प्रमुख कार्यालयका अनुसार अधिवेशन जेठ १ गते शुक्रबार बिहान ११ बजेबाट सुरु हुनेछ ।
सरकारले आगामी नीति तथा कार्यक्रम, बजेट प्रस्तुतिका साथै मुख्यमन्त्रीले विश्वासको मत लिने तयारीका बीच प्रदेशसभाको अधिवेशन बोलाइएको हो ।



