जनकपुरधाम, २८ बैशाख । मधेश प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले आगामी शुक्रबार प्रदेशसभाबाट विश्वासको मत लिने भएका छन् ।

सोमबार बसेको मधेश प्रदेश सरकारको मन्त्रिपरिषद् बैठकले जेठ १ गते विश्वासको मत लिने निर्णय गरेको हो ।

मुख्यमन्त्री यादवले मन्त्रिपरिषद् बैठकले विश्वासको मत, आगामी नीति तथा कार्यक्रम र बजेट प्रस्तुत गर्न प्रदेशसभा बैठक आह्वानका लागि प्रदेश प्रमुखसमक्ष सिफारिस गर्ने निर्णयसमेत गरेको जानकारी दिए ।

मधेश प्रदेशमा पाँच दलीय गठबन्धनको सरकार सञ्चालन भइरहेका बेला सीके राउत नेतृत्वको जनमत पार्टीले सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि मुख्यमन्त्री यादवले विश्वासको मत लिन लागेका हुन् ।

जनमत पार्टीले गत बैशाख २२ गते सरकारप्रतिको समर्थन फिर्ता लिएको थियो ।

१०७ सदस्यीय मधेश प्रदेशसभामा हाल १०० जना प्रदेशसभा सदस्य कायम रहेका छन् ।

वर्तमान सत्ता गठबन्धनमा रहेका नेपाली कांग्रेसका २२, जनता समाजवादी पार्टी नेपालका सभामुखबाहेक १७, नेपाल कम्युनिष्ट पार्टी (एमाले) का १४ तथा लोकतान्त्रिक समाजवादी पार्टीका ८ जना प्रदेशसभा सदस्य रहेका छन् ।

यसअनुसार सरकारको पक्षमा हाल ६१ सांसदको समर्थन रहेको छ ।