सिरहा, २७ बैशाख । सिरहा क्षेत्र नम्बर २ का प्रतिनिधिसभा सदस्य शिवशंकर यादवले बरियारपट्टी छोटी भन्सार कायम राख्न तथा यसको स्तर उन्नतिका लागि आफू निरन्तर पहलरत रहेको बताएका छन् ।

सांसद यादवले सामाजिक सञ्जालमार्फत धारणा सार्वजनिक गर्दै बरियारपट्टी छोटी भन्सार सीमावर्ती क्षेत्रका नागरिकको आवश्यकता र जनजीविकासँग जोडिएको विषय भएकाले यसलाई प्राथमिकताका साथ उठाउँदै आएको बताएका हुन् ।

उनले प्रतिनिधिसभा सदस्य निर्वाचित हुनुअघि नै उक्त मुद्दालाई जनसरोकारको विषय बनाएर आवाज उठाएको उल्लेख गर्दै जेनजी आन्दोलनको समयदेखि नै यसबारे विभिन्न तहमा पहल हुँदै आएको बताए ।

तत्कालीन अर्थमन्त्री रामेश्वर खनालसँग पटक पटक छलफल गरिएको तथा लहान भ्रमणका क्रममा जेनजी अभियानका प्रतिनिधिसँगसमेत विस्तृत संवाद भएको उनको भनाइ छ ।

यादवका अनुसार त्यस क्रममा बरियारपट्टी छोटी भन्सार कायम राख्न माग गर्दै ज्ञापनपत्रसमेत बुझाइएको थियो ।

हाल भन्सार विभागका महानिर्देशक र अर्थमन्त्री स्वर्णिम वाग्लेसँग निरन्तर समन्वय भइरहेको उनले बताए ।

‘म आन्दोलनबाट आएको मान्छे हुँ । संघर्षको मूल्य, जनताको पीडा र सीमावर्ती क्षेत्रको आवश्यकता मैले नजिकबाट बुझेको छु,’यादवले उल्लेख गरेका छन् ।

उनले बरियारपट्टी छोटी भन्सारको विषयलाई व्यक्तिगत वा दलगत स्वार्थसँग नजोड्न आग्रह गर्दै यसको स्थायी समाधानका लागि सबै पक्ष एकजुट हुनुपर्ने बताए ।

सीमावर्ती क्षेत्रको आर्थिक गतिविधि र स्थानीय नागरिकको सहजतासँग जोडिएको विषय भएकाले समस्या समाधानका लागि आफ्नो पहल निरन्तर रहने उनको भनाइ छ ।