जनकपुरधाम, २७ बैशाख । मधेश प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले आगामी बैशाख ३० गते बुधवार प्रदेशसभाबाट विश्वासको मत लिने तयारी गरेका छन् ।

जनकपुरधाममा आज पत्रकारहरूसँग कुरा गर्दै मुख्यमन्त्री यादवले आफू नेतृत्वको सरकारसँग पर्याप्त बहुमत रहेको दाबी गरे ।

उनका अनुसार सत्तारुढ चार दलको समर्थन कायम रहेकाले सरकार स्थिर र सुदृढ अवस्थामा रहेको छ ।

मुख्यमन्त्री यादवले नेपाली काँग्रेससहित सत्तारुढ चार दलको आज बसेको बैठकमा बुधवार विश्वासको मत लिने विषयमा छलफल भएको जानकारी दिए ।

उनका अनुसार नेपाली काँग्रेसका २२, जनता समाजवादी पार्टी नेपालका १७, नेपाली कम्युनिष्ट पार्टीका १५ र लोकतान्त्रिक समाजवादी पार्टी नेपालका ८ गरी कुल ६२ प्रदेशसभा सदस्यहरूको समर्थन सरकारसँग रहेको छ ।

जनमत पार्टी सरकारबाट बाहिरिए पनि त्यसले सरकारको कामकारबाहीमा कुनै असर नपर्ने उनको दाबी छ ।

साथै, उनले नेकपा एमालेलाई पनि समर्थनका लागि आग्रह गर्ने बताए ।

चार दलको बैठकमा वर्तमान सरकारलाई अझ प्रभावकारी ढंगले सञ्चालन गर्ने विषयमा पनि छलफल भएको मुख्यमन्त्री यादवले जानकारी दिए ।