रौतहट, २७ बैशाख । रौतहटमा चोरी भएको मोटरसाइकल प्रयोग गरी फरार हुँदै गर्दा पैदल यात्रीलाई ठक्कर दिई गम्भीर घाइते बनाएको घटनामा संलग्न एक व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालय रौतहटका अनुसार गत बैशाख २२ गते बिहान करिब ११:४० बजे मौलापुर नगरपालिका–०५ स्थित आईटी चौकमा मधेश प्रदेश–०३–०२७ प ७५७५ नम्बरको मोटरसाइकलले पैदल यात्री २० वर्षिया सुनिता कुमारीलाई ठक्कर दिएको थियो ।

दुर्घटनापछि चालक घटनास्थलमै मोटरसाइकल छोडी फरार भएका थिए ।

अनुसन्धानका क्रममा उक्त मोटरसाइकल सोही दिन बिहान ८ बजे पर्साको नगवा चोकबाट चोरी भएको खुलेको प्रहरीले जनाएको छ ।

सवारीधनी वीरगञ्ज महानगरपालिका–१६ निवासी रमेश कुमार पटेलले मोटरसाइकल चोरी भएको भन्दै प्रहरीमा निवेदन दिएका थिए ।

घटनापछि प्रहरीले प्राविधिक विश्लेषण, हुलिया तथा सम्भावित भाग्ने मार्गको आधारमा खोजतलास तीव्र बनाएको थियो ।

सोही क्रममा फरार रहेका अभियुक्त बारा जिल्लाको सिम्रौनगढ नगरपालिका–३ का २३ वर्षीय जावीर अन्सारीलाई बैशाख २५ गते बौधीमाई नगरपालिका–८ स्थित बंकुल नहर चोकबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

पक्राउ परेका अन्सारीलाई सवारी अंगभंग र चोरीसम्बन्धी मुद्दामा थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय रौतहटमा राखिएको छ ।

प्रहरी नायव उपरीक्षक विष्णु प्रदीप बस्यालका अनुसार घटनाबारे थप अनुसन्धान जारी रहेको छ ।