साइबर ठगीका नयाँ शैली सक्रिय, बैंकिङ विवरण सुरक्षित राख्न आग्रह

जनकपुरधाम, २७ बैशाख । पछिल्लो समय ConnectIPS सँग मिल्दोजुल्दो नाम प्रयोग गरी फिसिङ लिंक पठाएर बैंक खातामा अनधिकृत पहुँच पुर्याई रकम चोरी गर्ने घटना बढ्दै गएको भन्दै नेपाल प्रहरीको साइबर ब्यूरोले सर्वसाधारणलाई सतर्क रहन आग्रह गरेको छ ।
साइबर ब्यूरोका अनुसार अज्ञात तथा आपराधिक समूहहरूले विभिन्न मोबाइल नम्बर र OWP_ALERT, AT_ALERT जस्ता नामबाट “Your Account Is Locked” वा “ConnectIPS Account Locked” भन्ने सन्देश पठाई प्रयोगकर्तालाई नक्कली वेबसाइटमा प्रवेश गराउने प्रयास गरिरहेका छन् ।
ब्यूरोले connectips.live, connectips.support, connectips-support.com, connectsips.com लगायतका लिंकहरू प्रयोग गरी प्रयोगकर्ताको व्यक्तिगत विवरण तथा बैंकिङ सूचना चोरी गर्ने गतिविधि भइरहेको जनाएको छ ।
यस्ता लिंकमार्फत प्रयोगकर्ताको मोबाइल तथा बैंक खातामा पहुँच पुर्याएर रकम चोरी गर्ने प्रवृत्ति दिनानुदिन बढ्दै गएको साइबर ब्यूरोको भनाइ छ ।
साइबर ब्यूरोले सर्वसाधारणलाई यस्ता शंकास्पद लिंकमा क्लिक नगर्न, बैंकिङ कारोबारका लागि आधिकारिक वेबसाइट मात्र प्रयोग गर्न तथा आफ्नो व्यक्तिगत बैंकिङ विवरण गोप्य राख्न अनुरोध गरेको छ ।
त्यस्तै, कुनै पनि शंकास्पद लिंक वा सन्देश प्राप्त भएमा तत्काल साइबर ब्यूरो, बैंक वा सम्बन्धित निकायमा जानकारी गराउन पनि आग्रह गरिएको छ ।

साइबर ब्यूरोका प्रवक्ता प्रहरी उपरीक्षक दिलीप कुमार गिरीले डिजिटल बैंकिङ प्रयोग गर्दा विशेष सावधानी अपनाउनुपर्ने बताएका छन् ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


