ढल्केबरमा सुकुमवासीहरूको प्रदर्शन, ‘पहिले व्यवस्थापन गरौँ, अनि मात्रै हटाऔँ’

जनकपुरधाम, २७ बैशाख । धनुषाको ढल्केबरमा सुकुमवासी समुदायले भूमि तथा आवासको अधिकार सुनिश्चित गर्न माग गर्दै प्रदर्शन गरेका छन् ।
राष्ट्रिय भूमि अधिकार मञ्च जिल्ला कार्यसमिति धनुषाको नेतृत्वमा भएको प्रदर्शनमा सहभागीहरूले सरकारविरुद्ध नाराबाजी गर्दै सुकुमवासी बस्तीमा डोजर चलाउन नहुने चेतावनी दिएका हुन् ।
प्रदर्शनकारीहरूले ‘उठिवास बन्द गर’, ‘भूमि र आवासको अधिकार सुनिश्चित गर’ तथा ‘जीवन र जीविकाको अधिकार कायम गर’ लगायतका नारा लेखिएका प्लेकार्ड बोकेर ढल्केबर बजार परिक्रमा गरेका थिए । त्यसपछि उनीहरूले ढल्केबरस्थित पार्कमा कोणसभा आयोजना गरेका थिए ।
कोणसभालाई सम्बोधन गर्दै भूमि अधिकार मञ्चका केन्द्रीय सदस्य इच्छाराम परियारले सुकुमवासी बस्ती हटाउनुभन्दा पहिले राज्यले वैकल्पिक व्यवस्थापन गर्नुपर्ने बताए ।
उनले वर्षौंदेखि बसोबास गर्दै आएका परिवारलाई सोही जग्गाको लालपुर्जा उपलब्ध गराउन सरकारसँग माग गरे ।
उनले भने, ‘सरकारले सुकुमवासी व्यवस्थापनका लागि नीति ल्याउनु सकारात्मक पक्ष हो । तर, व्यवस्थापन नगरी डोजर चलाउनु मानवीय हुँदैन । बसोबास गरिरहेको जग्गाकै स्वामित्व दिनुपर्छ ।’
त्यस्तै, मिथिला नगरपालिका–३ दिनाभद्री सुकुम्बासी टोलका स्थानीय गोबिन्द सदाले पनि बस्तीमा डोजर चलाउने तयारी तत्काल रोक्न माग गरे ।
उनले आफूहरूलाई सुरक्षित आवास र लालपुर्जाको व्यवस्था गर्न सरकारसँग आग्रह गरे ।
प्रदर्शनमा सहभागीहरूले सुकुमवासी समुदायमाथि जबर्जस्ती उठिवास गराउने प्रयास बन्द गरी दीर्घकालीन समाधान खोज्न सरकारको ध्यानाकर्षण गराए ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


