जनकपुरधाम, २७ बैशाख । धनुषाको मिथिला नगरपालिकामा यात्रुवाहक बस दुर्घटना हुँदा चालकसहित १७ जना घाइते भएका छन् ।

पूर्व–पश्चिम राजमार्ग अन्तर्गत मिथिला नगरपालिका–९ स्थित फुटबल ग्राउण्ड नजिक आज बिहान दुर्घटना भएको प्रहरीले जनाएको छ ।

काठमाडौँबाट विराटनगरतर्फ जाँदै गरेको बागमती प्रदेश ०१–००६ ख ५२३७ नम्बरको बस अर्को सवारीलाई ओभरटेक गर्ने क्रममा अनियन्त्रित भई सडकमा पल्टिएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।

प्रहरीका अनुसार बसमा ३३ जना यात्रु सवार रहेका थिए । दुर्घटनामा घाइते भएका १७ जनामध्ये केहीको अवस्था सामान्य रहेको बताइएको छ ।

घाइते सबैलाई तत्काल उद्धार गरी धनुषाको लालगढस्थित मोडल अस्पतालमा उपचारका लागि पठाइएको प्रहरीले जनाएको छ ।

दुर्घटनापछि केही समय सडकमा सवारी आवागमन प्रभावित बनेको थियो । प्रहरीले घटनाबारे थप अनुसन्धान अघि बढाएको छ ।