होटलमा युवती मृत भेटिएपछि हत्याको आशङ्का, तीन जना नियन्त्रणमा

बारा, २६ बैशाख । बाराको निजगढ नगरपालिका–९ स्थित गुरुङ होटलमा एक युवती मृत अवस्थामा फेला परेपछि प्रहरीले हत्या आशङ्कामा तीन जनालाई नियन्त्रणमा लिएर अनुसन्धान अघि बढाएको छ ।
जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी उपरीक्षक नरेन्द्र कुवँरका अनुसार निजगढ नगरपालिका–१२ कोलगाउँ निवासी १९ वर्षीया सीता थिङ होटलको कोठाभित्र अचेत अवस्थामा फेला परेकी थिइन् ।
उनलाई तत्काल उपचारका लागि निजगढ सामुदायिक अस्पताल लगिएको भए पनि चिकित्सकले मृत घोषणा गरेका थिए ।
प्रारम्भिक अनुसन्धानमा युवतीको घाँटी थिचेर हत्या गरिएको हुन सक्ने आशङ्का गरिएको प्रहरीले जनाएको छ ।
घटनापछि होटलमा उनीसँगै रहेका दुई पुरुष र एक महिलालाई नियन्त्रणमा लिएर सोधपुछ भइरहेको छ ।
प्रहरीका अनुसार पक्राउ परेकाहरूको परिचय अनुसन्धान प्रभावित हुन सक्ने भएकाले हाल सार्वजनिक गरिएको छैन ।
घटनास्थलबाट आवश्यक प्रमाणहरू सङ्कलन गरिएको र शव पोस्टमार्टमका लागि तयारी अवस्थामा राखिएको इलाका प्रहरी कार्यालय निजगढले जनाएको छ ।
पोस्टमार्टम रिपोर्टपछि मृत्युको वास्तविक कारण स्पष्ट हुने प्रहरीले बताएको छ ।
प्रहरीले घटनाबारे सबै कोणबाट अनुसन्धान भइरहेको र दोषी पुष्टि भए कानुनी कारबाही गरिने जनाएको छ ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


