महोत्तरी, २६ बैशाख । महोत्तरीमा इँटा उद्योगका लागि खनिएको खाल्डोमा जमेको पानीमा डुबेर दुई वर्षीय बालकको ज्यान गएको छ ।

मृत्यु हुनेमा सिन्धुलीको मरिण गाउँपालिका–८ पाचतल्लेका दिलबहादुर राना मगरका दुई वर्षीय छोरा हिरा बहादुर राना मगर रहेका जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ ।

औरही नगरपालिका–२ स्थित न्यू बाबा फिक्स इँटा उद्योगको चिम्नी निर्माणका लागि खनिएको खाल्डोमा जमेको पानीमा खेल्ने क्रममा बालक डुबेको प्रहरीले जनाएको छ ।

घटनाबारे जानकारी पाएलगत्तै प्रहरी चौकी औरहीबाट टोली घटनास्थल पुगेको थियो ।

त्यसैगरी, इलाका प्रहरी कार्यालय गौशालाबाट समेत मुचुल्का टोली पुगेर आवश्यक कानुनी प्रक्रिया पूरा गरिएको छ ।

प्रहरीले बालकको शवलाई पोस्टमार्टम तथा अन्य कानुनी प्रक्रियाका लागि सुरक्षित राखिएको जनाएको छ ।

घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ ।