धनुषा प्रहरीका ९० कर्मचारीको निःशुल्क आँखा परीक्षण

जनकपुरधाम, २६ बैशाख । समुदाय–प्रहरी साझेदारी कार्यक्रमअन्तर्गत जिल्ला प्रहरी कार्यालय धनुषामा निःशुल्क आँखा शिविरको आयोजना गरिएको छ ।
जिल्ला प्रहरी कार्यालय धनुषा र परिक्रमा सामुदायिक सेवा केन्द्र धनुषाको संयुक्त आयोजना तथा जनकपुर नेत्रालय प्रा.लि. धनुषाको सहकार्यमा आयोजित शिविरमा ९० जना प्रहरी कर्मचारीको आँखा परीक्षण गरिएको हो ।
शनिबार जिल्ला प्रहरी कार्यालय परिसरमा आयोजित शिविरमा जनकपुर नेत्रालयका डा. रविशंकर चौधरीसहितको स्वास्थ्य टोलीले जिल्ला प्रहरी कार्यालय तथा मातहत नगर एरिया भित्र कार्यरत प्रहरी कर्मचारीहरूको स्वास्थ्य परीक्षण गरेको प्रहरीले जनाएको छ ।
प्रहरी कर्मचारीहरूको आँखासम्बन्धी समस्या पहिचान तथा समयमै उपचारमा सहयोग पुर्याउने उद्देश्यले शिविर सञ्चालन गरिएको आयोजकले जनाएको छ ।
कार्यक्रममा आवश्यक परामर्शसहित केही कर्मचारीलाई थप उपचारका लागि सुझावसमेत दिइएको थियो ।
समुदाय–प्रहरी साझेदारी कार्यक्रमअन्तर्गत यस्ता स्वास्थ्यसम्बन्धी गतिविधिले प्रहरी कर्मचारीको कार्यक्षमता अभिवृद्धि हुनुका साथै समुदायसँगको सम्बन्ध अझ सुदृढ हुने विश्वास लिइएको छ ।




तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


