अनुसन्धान केन्द्रमै फैलियो बर्डफ्लु, हजारौँ पन्छी नष्ट

बारा, २६ बैशाख । बाराको परवानीपुरस्थित राष्ट्रिय पन्छी अनुसन्धान कार्यक्रममा बर्डफ्लु संक्रमण फैलिँदा करिब ५० लाख रुपैयाँ बराबरको क्षति भएको छ ।
संक्रमण नियन्त्रणका लागि अनुसन्धान केन्द्रमा पालिएका विभिन्न प्रजातिका पन्छी, अण्डा तथा दाना नष्ट गरिएको हो ।
राष्ट्रिय पन्छी अनुसन्धान कार्यक्रमका सूचना अधिकारी खमबहादुर प्रजाका अनुसार गत चैतको अन्तिम सातातिर टर्की प्रजातिका पन्छीमा पहिलोपटक बर्डफ्लु पुष्टि भएको थियो । त्यसपछि संक्रमण अन्य प्रजातिमा समेत फैलिन थालेपछि सम्पूर्ण पन्छी नष्ट गर्नुपर्ने अवस्था आएको उनले बताए ।
उनका अनुसार संक्रमणका कारण करिब दुई हजार कुखुराका चल्ला, गिरीराजसहित करिब १२ सय कुखुरा, ३३ वटा तित्रा, ४७ वटा सेतो तथा कालो टर्की र करिब ४५० वटा बट्टाई नष्ट गरिएको छ ।
त्यस्तै, पन्छीलाई खुवाइने एल–वान ८३५ किलोग्राम, एल–टु ४५५ किलोग्राम तथा एल–थ्रि एक हजार ८३५ किलोग्राम दाना पनि नष्ट गरिएको कार्यालयले जनाएको छ ।
संक्रमण फैलिन नदिन अहिले फार्म क्षेत्रमा निर्मलीकरणको काम तीव्र पारिएको छ । कार्यालयले चुना छर्किने, मल व्यवस्थापन गर्ने तथा आगोको ताप प्रयोग गरेर क्षेत्र सुरक्षित बनाउने काम भइरहेको जनाएको छ ।
सूचना अधिकारी प्रजाले अनुसन्धान कार्यक्रमलाई पुनः सञ्चालनमा ल्याउने तयारीसमेत सुरु गरिएको जानकारी दिए ।
उनका अनुसार पोखरा र नेपालगञ्जस्थित कार्यालयबाट आवश्यक पन्छी तथा अण्डा ल्याएर अनुसन्धान कार्यक्रम पुनः सञ्चालन गर्ने योजना अघि बढाइएको छ ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


