सिरहा, २६ बैशाख । सिरहाको बरियारपट्टीस्थित छोटी भन्सार कार्यालय बन्द गर्ने सरकारी निर्णयको विरोधमा स्थानीयवासी तथा व्यापारीहरूले हुलाकी मार्ग अवरुद्ध गर्दै आन्दोलन चर्काएका छन् ।

नेपाल सरकारले बैशाख २१ गते राजपत्रमा सूचना प्रकाशित गरी सिरहा–बरियारपट्टी छोटी भन्सार कार्यालय बन्द गर्ने निर्णय गरेपछि स्थानीय स्तरमा विरोध सुरु भएको हो ।

निर्णयले सीमा क्षेत्रको व्यापार, व्यवसाय तथा आर्थिक गतिविधिमा प्रत्यक्ष असर पर्ने भन्दै स्थानीयवासी आन्दोलित बनेका हुन् ।

आन्दोलनकारीहरूले बरियारपट्टी गाउँपालिका–३ स्थित बरियारपट्टी चोकमा सडकको बीच भागमा बेन्च राखेर हुलाकी मार्ग अवरुद्ध गरेका छन् ।

सडक अवरुद्ध भएपछि उक्त मार्ग भएर सञ्चालन हुने सवारी साधनको आवागमन प्रभावित बनेको छ भने यात्रुहरूलेसमेत सास्ती भोग्नुपरेको छ ।

विरोध कार्यक्रममा बजार व्यवस्थापन समिति, सुखीपुर उद्योग व्यापार समिति, मधेश प्रदेश सभा सदस्य संजय कुमार यादवसहित स्थानीय व्यापारी र सर्वसाधारणको सहभागिता रहेको थियो ।

प्रदर्शनकारीहरूले छोटी भन्सार कार्यालय पुनः सञ्चालन गर्नुपर्ने माग राख्दै दैनिक आन्दोलन जारी राख्ने चेतावनी दिएका छन् ।

स्थानीय व्यवसायीहरूले भन्सार कार्यालय बन्द हुँदा सीमावर्ती क्षेत्रमा हुने सानो व्यापारसमेत प्रभावित हुने र त्यसको असर स्थानीय अर्थतन्त्रमा पर्ने बताएका छन् ।

उनीहरूले सरकारलाई निर्णय पुनर्विचार गरी तत्काल भन्सार सेवा सुचारु गर्न आग्रह गरेका छन् ।