जनकपुरधाम, २६ बैशाख । मधेश प्रदेशका प्रदेश प्रमुख डा. सुरेन्द्र लाभ कर्णले न्याय प्रक्रिया ढिलो, जटिल र झन्झटिलो हुँदा कानूनी शासनको अवधारणामै असर पर्ने बताएका छन् ।

उच्च अदालत जनकपुरको आयोजनामा शुक्रबार जनकपुरधाममा सुरु भएको ‘न्यायिक महोत्सव’को उद्घाटन गर्दै प्रदेश प्रमुख कर्णले न्यायलाई सहज, सुलभ र छिटो बनाउन आवश्यक रहेको उल्लेख गरे ।

उनले कानून समाजको ऐना भएजस्तै न्याय त्यसको प्रतिबिम्ब हुने भन्दै न्याय प्रणाली नागरिकमैत्री हुनुपर्नेमा जोड दिए ।

‘जहाँ न्याय ढिलो हुन्छ, त्यहाँ कानूनी राज्यको अनुभूति कमजोर हुन्छ,’ उनले भने, ‘न्याय प्राप्तिको प्रक्रिया सरल र कम खर्चिलो बनाउन अब गम्भीर पहल आवश्यक छ ।’

प्रदेश प्रमुख कर्णले नेपालमा प्रयोग हुने कानूनी भाषा अत्यधिक जटिल रहेको टिप्पणी गर्दै त्यसलाई सरलीकरण गर्नुपर्ने आवश्यकता औंल्याए ।

उनका अनुसार कानूनी शब्दावली कठिन हुँदा सर्वसाधारणले न्यायिक प्रक्रिया बुझ्नै कठिन हुने अवस्था रहेको छ ।

उनले न्याय सम्पादन प्रक्रियाबारे नागरिकलाई जानकारी गराउने उद्देश्यले उच्च अदालत जनकपुरले आयोजना गरेको न्यायिक महोत्सवको प्रशंसासमेत गरे ।

कार्यक्रमलाई सम्बोधन गर्दै मधेशका मुख्यमन्त्री कृष्ण प्रसाद यादवले सर्वोच्च अदालतको प्रधानन्यायाधीश नियुक्ति प्रक्रियालाई लिएर टिप्पणी गरे ।

उनले सरकारद्वारा गरिएको सिफारिसले परम्परा तोडेको भए पनि कार्यसम्पादनलाई आधार बनाइएको दाबी गरिएकाले उक्त निर्णय सही साबित होस् भन्ने अपेक्षा व्यक्त गरे ।

मुख्यमन्त्री यादवले न्यायपालिका कार्यपालिकाको प्रभावबाट मुक्त र स्वतन्त्र रहनुपर्ने बताउँदै यस्ता संवेदनशील प्रक्रियामा सरकारले अझ जिम्मेवार ढंगले काम गर्नुपर्ने धारणा राखे ।

महोत्सवमा मधेश प्रदेशसभाका सभामुख रामअशिष यादव, उच्च अदालत जनकपुरका कायम मुकायम मुख्य न्यायाधीश टेकनारायण कुँवर, न्यायाधीश, कानुन व्यवसायी तथा सर्वसाधारणको उल्लेख्य उपस्थिति रहेको थियो ।